तेलको मूल्य घट्यो

395

फागुन २६,
आइतबार तेलको मूल्यमा ऐतिहासिक कमी आयो । अहिले कोरोनाभाइरसका कारण विश्वका ठूला औधोगिक देशका निर्माण कार्यमा सुस्तता आएकाले तेलको मागमा उल्लेख्य कमी आएको छ । माग भएको कमीले तेलको मूल्यमा ह्रास आएको छ । त्यसमाथि ठूला तेल उत्पादक राष्ट्र साउदी अरबले अर्को ठूलो तेल उत्पादक रुसविरुद्ध मूल्य युद्ध छेडेपछि आइतबार मूल्यमा ऐतिहासिक गिरावट आएको हो ।
आइतबार अमेरिकी तेलको मूल्यमा एकै दिन २७ प्रतिशत गिरावट आयो । योसँगै अहिले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य चार वर्षअघिको अवस्थामा पुगेको छ । आइतबार तेलको मूल्य प्रति ब्यारेल ३० डलर पुगेको छ ।विश्वव्यापी कच्चा तेलको मानक मानिने ब्रेन्ट क्रुडको मूल्यमा पनि २२ प्रतिशतले गिरावट आएर प्रति व्यारेल ३५ डलर पुगेको छ । तेलको मूल्यमा हाल देखिएको गिरावट शुक्रबार ओपेक र रुसबीचको वार्ता बिथोलिएपछि उत्पन्न भएको हो ।

ओपेक र रुसबीच तेलसम्बन्धमा भएको वार्तामा साउदी अरबले रुससँग तेलको उत्पादन कटौती गर्न प्रस्ताव राखेको थियो । तर रुसले साउदी अरबको प्रस्ताव अस्वीकार गर्यो ।साउदी अरब र रुसबीचको असमझदारीले शुक्रबार नै तेलको मूल्य १० प्रतिशतले झरेको थियो । -एजेन्सी