बलात्कार अभियोगमा मन्त्रीकै सल्लाहकार पक्राउ

168

फागुन १४, काठमाडौं । एकजना राज्यमन्त्रीका सल्लाहकारलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार किशोरी बलात्कार अभियोगमा पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई १४ दिन अघि पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको हो। बलात्कार अभियोगमा पक्राउ परेका घलेले शक्तिको आडमा प्रहरीलाई दबाब दिन खोजे पनि उनीमाथि म्याद थप गरेर कारवाही अघि बढाइएको हो।

किशोरीलाई घलेले माघ २७ गतेदेखि फागुन १ गतेसम्म फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। ‘घलेलाई १४ दिनअघि पक्राउ गरेका हौँ। उनीविरुद्ध शरीर बन्धक तथा बलात्कार केसमा अदालतबाट जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ, महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने, ‘किशोरीले आफूलाई घलेकै घरको कोठामा बन्धक बनाएर बलात्कार गरेको उजुरी दिइसकेकी छन्। उनको स्वास्थ्य जाँचसहितको प्रक्रिया पूरा गरिसकेका छौं।’ प्रहरीका अनुसार ती किशोरी काभ्रेको बनेपाबाट काठमाडौं आउन बस पर्खिरहेका बेला घले गाडी लिएर आएका थिए। काठमाडौंबाट बनेपा पुगेका घलेले बाटोमा बस कुरिरहेकी ती किशोरीलाई लिफ्ट दिएर ल्याएपछि घरमै बन्धक बनाएको बताइएको छ। किशोरीले प्रहरीमा दिएको उजुरीमा घलेले आफूलाई घरैमा बन्धक बनाएर बलात्कार गरेको जनाएकी छन्।

टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ। डिएसपी बोगटीका अनुसार घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने लोभ देखाएर बलात्कार गरेको खुलेको छ। चार दिनसम्म बन्धक बनेकी किशोरीले फागुन १ गते एकजना आफन्तलाई घटनाबारे खबर गरेकी थिइन्। आफूले प्रयोग गर्ने मोबाइलबाट खबर गरेकी उनलाई त्यही आधारमा प्रहरीले पत्ता लगाएर घलेको फ्ल्याबाट निकालेको थियो। थाहाखबर