चेक रिपब्लिकको तर्फबाट गुम्बालाई एम्बुलेन्स र मेडिकल उपकरण

235

फागुन २,
नाला (काभ्रे) । चेक रिपब्लिक डेभलपमेन्टको अपरेसनले काभ्रेको बनेपा नगरपालिका नालामा रहको एक गुम्बालाई एम्बुलेन्स र मेडिकल उपकरण सहयोग गरेको छ । नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा माल बाहक गाडी सहयोग गरेको छ । नेपालकालागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोह बीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरेका छन् ।

एम्बुलेन्समा आपतकालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ । चेक रिपब्लिकले स्पाइनबोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आईभीलाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथलगायतका सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा नेपालकालागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको पनि उपस्थिति थियो ।

‘यो क्षेत्रमाआवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा हामी खुसी छौं । हामीलाई आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दलाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ,’ हस्तान्तरण कार्यक्रममा राजदूत मिलान होभोर्काले भने ‘यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनता बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं ।’