श्री स्वस्थानी व्रतकथा सुरुः शालीनदी एक महिनासम्म मेला लाग्ने

247

पुस २५,
काठमाडौंं । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मीक शालीनदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मीक मेला सुरु भएको छ । शङ्करापुर नगरपालीकामा रहेको शालीनदीमा आज पुस २५ गतेबाट सुरु हुने मेला माघ २५ गतेसम्म एक महिना हुनेछ । व्रत सुरु भएको दिन बिहान सबेरै देखि दशानार्थीहरुको बाक्लो उपस्थिती मन्दिर वरपर रहेको हुने गरेको छ ।
श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्रामह्रणीका पुत्रनवराज राजाले राज्य गरेको प्राचीन नगर लावण्य देश साँखुको बाहिर रहेको नदी किनारमा भक्तजनहरु एक महिना सम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।
प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आइतबारदेखि सुरु भएको छ । मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मीक जनविश्वास रहेको छ । पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ । एक महिना पछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।
ग्रन्र्थमा उल्लेख भएअनुसार आफ्नो नजिकको मानीसलाई उक्त प्रसाद दिएमा ब्रत सिद्ध हुने जनविश्वास रहेको छ ।
स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिले करिब २५ लाख भक्तजन यो एक महिने मेलामा दर्शन गर्न आउने अनुमान गरेको छ ।
शान्ति सुरक्षा, सवारी पार्किङको व्यवस्था, खानाको मुल्य तथा बस भाडामा एकरुपता कायम गर्न समितिले विशेष नीति तयार पारेका छ ।
शालीनदी पुग्नको लागि श्रद्धालुहरुले ललीतपुरको सातदोबाटो, काठमाडौ रत्र्नपार्क, चावहिल चोक, पर्यटकीय स्थल नगरकोटबाट समेत सार्वजनीक यातायातका साधन पाउन सकिन्छ ।
यता भक्तपुर हुदै जान चाहने हरुले नगरकोट सडक खण्ड अन्र्तगतको तेलकोटबाट २० मिनेटको पैदल हिडेर समेत पुग्न सकिन्छ ।
मूल्य सूची राखि होटलहरुको अनुगमन, माग्नको लागि बस्नेहरुलाई समेत स्थान विशेषको व्यवस्था, मेलामा राखिएका पसलहरुलाई व्यवस्थित गराईने समेत कार्यक्रम संयोजक विजयकृष्ण भाष्करले जानकारी दिएका छन् ।
भक्तपुरमा माधव नारायण मेला सुरु
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आज बिहानदेखि त्रिवेणी हनुमान घाटमा सुरु भएको छ ।
यो तीथिमा लाग्ने मेलामा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधव नारायणको पूजा गरेपछि व्रतको शुभारम्भ हुन्छ ।
चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटमा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै व्रतको सुरु गर्दछन् ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने धार्मीक जनविश्वास गरेको छ ।
शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । यो मेला नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको इतिहास रहेको जानकारहरुको भनाई छ ।