किन गरियो अस्ट्रेलियामा सङ्कटकाल घोषणा ?

81

पुस १७,
बीबीसी । न्यू साउथ वेल्समा डढेलो क्षेत्र छोडेर जान लाग्दा देखिएको भिड
डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ। प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ। सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८ जनाको ज्यान लिइसकेको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा १,२०० घर खरानी भएका छन्।

यो हप्ता मात्रै कम्तीमा १७ जना मानिसहरू हराइरहेका छन्। अस्ट्रेलियामा डढेलो ुनियन्त्रण बाहिरु, सबैजसो राज्यको तापक्रम ४० डिग्री, हजारौँ मानिस न्यू साउथ वेल्सका खतरा मानिएका शहरबाट निस्किएका छन् र ती शहरमा अत्यावश्यक सामान कम हुँदै गएको छ। मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई अहिलेसम्मकै सबैभन्दा ठूलो स्थानान्तरण भनिएको छ।

खतरनाक दिन
सङ्कटकाल शुक्रवार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि सुरु हुने र सात दिन रहने बताइएको छ।
प्रान्तीय सरकारले अगामी हप्ताको अवस्था गत हप्ता जत्तिकै नराम्रो हुनसक्ने बताएको छ। गत हप्ता डढेलोले सयौँ घरमा नोक्सान पुर्‍याएको थियो। यसअघि अधिकारीहरूले न्यू साउथ वेल्सको २६० किलोमिटर लामो तटीय क्षेत्र शनिवार अगावै खालि गर्न निर्देशन दिएका थिए। यसको असरका रूपमा सिड्नी र राजधानी क्यानबेरा जाने सडकहरूमा जाम भएका छन् र पेट्रोल पम्पहरूमा लामो लाइन लागेको छ।
डढेलोको धुँवाको कारण क्यानबेराको वायु प्रदूषण बिहीवार अहिलेसम्मकै खराब बनेको थियो। अस्ट्रेलियाको हुलाक कार्यालयले पत्रसम्बन्धी कार्यहरू अगामी सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।