श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो…….

152

पुस १७,
काठमाडौँ । नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए । थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गएको छ । अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसासमेत गरेको छ । बुधबार नै भारतीय सेनाले अर्जुनको परिवारलाई घटनाको बारेमा जानकारी गराइसकेको छ । उनको शवलाई नेपाली सीमाना काँकडभित्तासम्म ल्याउने पारिवारले जानकारी दिएको छ ।

चार वर्षअघि भारतीय सेनामा भर्ना भएका अर्जुन एक महिनाको छुट्टीपछि पुस ५ गते कार्यक्षेत्रमा फर्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँधिएका थिए । तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो । गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन् । त्यसपछि ११÷१२ पढ्न अर्जुन द्रव्य साह कलेजमा भर्ना भएका थिए ।

अर्जुनका मामा सुजीत थापा भन्छन्, ‘भान्जा ६ महिनाअघि मात्र नेपाल आएर विवाह गरेर फर्किएका थिए । ११ पढ्दापढ्दै लाहुरे हुनुभएको हो । साह्रै मिलनसार हुनहुन्थ्यो ।’ ‘अर्जुन सानैदेखि मेलापात, गोठालो जाने काम गर्थे,’ मामा सुजीतले भने, ‘घरको एक्लो छोरा हुन् । आमा हुनुहुन्न,’ मामा सुजीतले रातोपाटीसँगको कुराकानीमा भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ । अर्जुनको निधनले परिवार बिचल्लीमा परेको छ ।’
बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भनेका थिए ।

मङ्गलबार मात्रै श्रीमतीसँग फोन भएको थियो
भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गोली चलेको हो । कुराकानीको क्रममा अर्जुनले ‘गोली चल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’ रातोपाटीबाट