कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा हुने

733

पुस ११, काठमाडौं । निकै लामो समयको मेहनतपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति तोकेको छ। वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरे पनि शुक्रबार साँझ सानेपामा सुरु भएको बैठकले २०७७ को फागुन ७ गतेदेखि १० सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको कार्याकाल एक वर्ष थप गर्ने निर्णय पनि गरेको छ। आजको बैठकले नेविसंघको पनि म्याद थप्ने निर्णय गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा नेविसंघको म्याद ६ महिना थप्ने निर्णय भएको हो। त्यस्तै ६ महिनाभित्र तरुण दलको पनि महाधिवेशन गर्ने गरी म्याथ थप भएको छ। केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति देउवाले प्रस्ताव बहुमतले पारित भएको छ। पौडेल समूहले लगातार बैठक बहिस्कार गरेपछि सभापति देउवाले सहमतिको लागि विभिन्न समयमा तोकिएको बैठक स्थगित गर्दै आएका थिए। दुई पक्षको विवाद समाधानको लागि कार्यदल नै बनाए पनि कार्यदलको छलफलले निष्कर्ष निकाल्न सकेको छैन। पौडेल पक्षले २०७७ मंसिर महिनाभित्र अधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने माग राखेको थियो। त्यस्तै नेविसंघको विषय दुवै पक्षको बटमलाइन बनेको थियो। यसअघि छलफलका लागि भन्दै एक साता स्थगित गरेर १० गतेको लागि बैठक डाकिएको थियो।

१० गते सूर्य ग्रहणका कारण सरेको बैठक शुक्रबार दिउँसो १ बजेको लागि डाकिएको थियो। मंसिर २६ मा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटकपटक बहिस्कार गरेपछि बस्न सकेको थिएन। देउवाले प्रस्ताव गरेका विभागहरू, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवं नेविसंघको तदर्थ समिति गठनलगायतका विषयमा पौडेल पक्षको असहमति छ। पौडेल पक्षले अब सिधै १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने र सोही प्रस्ताव सभापतिले बैठकमा ल्याउनुपर्ने भन्दै बैठक बहिष्कार गर्दै आएको छ।