‘एकपक्षीय निर्णय मान्य हुँदैन’

71
Students afiliated Nepal comunist Party take out protest rally against recently-unveiled political map by the Indian government that has placed Nepali territory Kalapani inside Indian borders Photo : nagarik/republica

नागरिक दैनिक
कार्तिक २१, काठमाडौं । नेपालको भूमि लिपुलेक र कालापानी क्षेत्रलाई भारतले हालै प्रकाशित गरेको आफ्नो नक्सामा समावेश गरेपछि नेपाल सरकारले प्रतिवाद गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भूभाग भएको र यसमा सरकार स्पष्ट रहेको जनाएको हो।

नेपालको भूभाग भारतीय नक्सामा परेको समाचार सार्वजनिक भएपछि यसबारे सरकारको आधिकारिक धारणाको खोजी भएको थियो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषय दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने जनाइएको छ। विज्ञप्तिमा एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने उल्लेख गरिएको छ। ‘भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचको सीमा समस्या समाधान गर्नेगरी जिम्मा दिइएको जनाएको छ। त्यसका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्नेगरी जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।