Friday, October 9, 2026
Home पत्रपत्रिका खेतीमा यान्त्रीकरणः हरायो हलो

खेतीमा यान्त्रीकरणः हरायो हलो

333

कान्तिपुर दैनिक
कार्तिक २१, डडेलधुरा — अजयमेरुका अगुवा कृषक टेक भण्डारी कृषिमा प्रयोग हुने आधुनिक यन्त्र चलाउने सिप सिक्न थालेको २ महिना भयो । हाते ट्रयाक्टर र काट्ने चुट्ने औजार उनले पहिलेदेखि नै चलाउँदै आएका हुन् । तर यस पटक उनले फलफुलका बिरुवा लगाउँदा खाल्डो खन्ने पिट डिगर, कम्माइन हार्बेस्टर, रोप्दा प्रयोग हुने सिट डील र आलु खन्ने जस्ता आधुनिक कृषि उपकरण चलाउने तालिम लिन थालेका हुन् ।‘परम्परागत साधनबाट खेतीपाती गर्ने म जस्ता धेरै कृषकले आधुनिक यन्त्र चलाउन सिक्न थालेका छन्’ भण्डारीले भने ‘समयअनुसार आधुनिक यन्त्रबाट खेतीपाती नगर्ने हो भने व्यवसायिक खेती हुन सक्दैन ।’ अमरगढी ११ का कृषक अजय जोशी पनि हिजोआज आधुनिक यन्त्र प्रयोग गरेर तरकारी खेती गर्न थालेका छन् । सधैंजसो तरकारी बारीमा समय दिने जोशीले विभिन्न आधुनिक यन्त्रको प्रयोग सुरु गरेर समय बचन गरेका छन् । ‘आधुनिक यन्त्रको प्रयोगले समयको मात्र बचत भएको छैन, उत्पादनमा पनि बढेको छ’ जोशीले भने ‘बचेको समयमा अरु धेरै काम गर्न सकिदो रहेछ ।’

चार हल गोरुले ४ दिन लगाएर जोत्ने गरेको बारी मिनिटिलरले डेढ दिनमै जोतेर तरकारी लगाउन सकेका जोशीले भने ‘राम्रा गोरु किन्न लाग्ने पैसा भन्दा कम पैसामा मिनिटिलर आयो ।’ मिनिटिलिरले जोत्ने गाउँमा उनी एक्ला भने होइनन् । जोशी भन्छन् ‘पछिल्लो समय गाउँमा गोरु पाल्नेको संख्या घटेको छ ।’सुगम मानिने पहाडी जिल्ला डडेलधुरामा पछिल्लो समय भण्डारी र जोशी जस्तै आधुनिक यन्त्रबाट खेतीपाती गर्नेहरु उनी जस्तै धेरै कृषक छन् । जिल्लाको भित्री मधेश क्षेत्रमा धान गहुँ खेती पनि आधुनिक यन्त्रको सहायताले सुरु भएको छ । पहाडी क्षेत्रमा तरकारी खेती खेती आधुनिक यन्त्रबाट गरिन थालिएको हो । तरकारीको पकेट क्षेत्र मानिने भागेश्वर गाउँपालिकाका अधिकांश कृषकले खेतीपातीमा आधुनिक यन्त्रको प्रयोग गर्न थालेको वर्षौं भएको छ ।