खेत जोत्ने क्रममा ६९ वटा बम फेला

175
सांकेतीक तस्विर

कान्तिपुर दैनिक
कार्तिक २१, बझाङ — एक किसानको खेतमा लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा बम फेला परेको छ । बुंगल नगरपालिका–६ दान्तोली खौलामा ६९ वटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।
बुंगल–६ का देउमल धामीको खेतमा ठुलो प्लाष्टिकको ड्रममा लुकाई राखेको अवस्थामा विस्फोटक पदार्थ फेला परेको थियो । ड्रममा सकेट बम सँगै १२५ ग्राम विष्फोटक पदार्थ नेपोलो सुपरफाइन नाम गरेको पाउडर समेत फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिए । मंगलबार साँझ हलो जोत्ने क्रममा हलोको टुप्पो ड्रममा अडकिएपछि किसानहरुले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । बम भएको स्थानलाई प्रहरीले मंगलबारदेखि नै पहरा दिएर राखेको थियो ।

बुधबार सदरमुकाम चैनपुरबाट गएको नेपाली सेनाको संग्राम सार्दुल गुल्मको बम डिस्पोजल टोलीले सबै बमलाई निस्क्रिय बनाएको डीएसपी बमले बताए । ‘फेला परेको बम अहिलेको नभएर द्वन्द्वकालमा लुकाएर राखेको जस्तो देखिन्छ’ उनले भने, ‘खिया लागेको अवस्थामा भेटिएकोले द्वन्द्वकाल मै लुकाएको हो अनुमान गर्न सकिन्छ ।’