Friday, September 18, 2026
Home समाचार नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

78

कात्तिक १२,
काठमाडौं : नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”–उनले भने। विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ। गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रियमान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा अझै छ। म्हः (आत्म) पूजा आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। यसवर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको थियो। एकथरी नेवार समुदायले सोमबार म्हः (आत्म) पूजा गरेका छन्। अर्काथरीले भने मङ्गलबार गर्दैछन्। मङ्गलबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने जानकारी गराएका छन्। यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ।