साउन २८,
बाँके । बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकास निर्माणमा ज्यादै पछि परेको छ । गाउँपालिकामा विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा भारतीय बजारमै बढी आश्रीत छन् ।
नरैनापुरका सीमावर्ती गाउँमा रोटीबेटीको सम्बन्ध पनि भारतसँगै जोडिएको छ । त्यसो त उनीहरु रुपैयाँ पनि बढी भारतीय नै प्रयोग गर्छन् । सीमावर्ती गाउँका अधिकांश नागरिकको कारोवार भारतीय बजारमै निर्भर छ ।
नेपालतिर सडकको राम्रो पहुँच नहुँदा यहाँका नागरिकको सम्बन्ध छिमेकी देशको सीमा बजारतिर नै जोडिएको हो ।
नागरिकता, लालपूर्जा र मत हाल्ने समयमा मात्रै नेपाली क्षेत्रसँग सम्बन्ध राख्छन् । सम्पर्क भाषा हिन्दी बोल्ने यहाँका स्थानीय भारतीय मुद्रामै कारोवार गर्छन् । मुस्लिम र मधेशी समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका नागरिक प्रायः नागरिकता र राहदानी लिनका लागि मात्रै सदरमुकाम नेपालगञ्ज पुग्छन् ।
यहाँका अधिकांश नेपालीको रोजगारी भारतमा नै छ । खाद्यान्नलगायतका बस्तु किन्न भारत जानुपर्ने बाध्यता भएकाले नेपाली रुपैयाँ नचल्नुको अर्को कारण हो । सियो, सलाइदेखि खाद्यान्न र स्वास्थ्योपचार गर्न भारतीय बजार नै पुग्नुपर्ने बाध्यता छ । “नेपाली रुपैयाँ चल्दैन, भारु चल्छ, हामीलाई भारु नै चाहिन्छ” कालाफाँटाका स्थानीय सुकदेव यादवले भन्नुभयो । -RSS