रंगीन मिठाई स्वास्थ्यका लागि हानिकारक

137

कात्तिक १२, २०७६ काठमाडौं : तिहार, विभिन्न प्रकारका रङ, बत्ती, मिठाई, रोटीहरूको पर्व। तिहारमा टीका लगाएर दिदीबहिनीले आफ्ना दाजुभाइलाई सद्धापूर्वक विभिन्न प्रकारका मिठाई तथा विभिन्न प्रकारका रोटीहरू भाइमसलाका रूपमा दिइन्छ। जसले गर्दा तिहारको बेलामा मिठाईहरूको व्यापार धेरै हुने व्यापारीहरू बताउँछन्। आकर्षकरूपमा बनाएर राखिएका तथा छिटो र बजारमा सजिलै किन्न सकिने हुँदा यस्ता मीठा परिकारहरू दिदी बहिनीहरूले दाजुभाइलाई खुवाउने चलन छ। ग्रामीण भेगमा भन्दा शहरीभेगमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई यस्ता मिठाइहरू अनिवार्यरूपमा नै दिने गर्छन्। यसरी दाजुभाइलाई दिइने मिठाइहरूमा प्रयोग हुने विभिन्न प्रकारका रङ र रसायनहरू स्वास्थ्यका लागि हानिकारक हुने गर्दछन्। जसले गर्दा यसरी बनाइएका मिठाईमा मिसाइने रसायन र रङहरूले तत्कालीन रूपमा फुड प्वाइजनु हुन सक्छ भने स्वास्थ्यमा दीर्घकालसम्म असर गर्न सक्छ। त्यसैले यस्ता मिठाईहरू किन्दा विशेष ख्याल गर्नुपर्छ। रंगीन मिठाईले यस्तो हानि गर्छ विभिन्न प्रकारका रोटी र मिठाईहरूको प्रयोग तिहारमा बढी नै हुने गर्छ। तर तिहारमा दाजुभाइलाई सगुनको रूपमा दिइने कतिपय यस्ता खानेकुराहरू स्वास्थ्यको दृष्टिकोण हानिकारक पनि हुन्छन्। तिहारमा बासी तेल र विभिन्न रसायनिक रङहरूको प्रयोगबाट बनाइने यस्ता मिठाईहरू दाजुभाइलाई दिँदा शरीरमा चिनीको मात्रा बढ्नुका साथै धेरै गुलियो मिठाईहरू खाँदा माइग्रेन, मिर्गौलाको समस्या देखिने गर्छ। साथै यस्ता मिठाईहरू धेरैजसो दूध र मैदाबाट बनाइने हुँदा ग्यास्ट्रिक हुनसक्ने सम्‍भावना बढी हुन्छ। सकेसम्म दाजुभाइलाई बजारमा बनाइएका यस्ता मिठाईहरू खान दिनु उचित हुँदैन। यसरी बनाइने मिठाइलाई रंगीन बनाउन मिसाइने रंगमा कार्सिनो हुने भएकाले रंग प्रयोग गरेर बनाइने मिठाईहरूमा क्यान्सर निम्त्याउने विभिन्न खालका रासायनिक तत्त्व हुने गर्छन्। तिहारको बेलामा दाजुभाइलाई विभिन्न प्रकारका मीठामीठा परिकारहरू दिने भन्दै दिदीबहिनीहरूले बजारमा लामो समयदेखि बनाएर प्लाष्टिकमा राखेका खानेकुराहरू दिने गर्छन्। लामो समयसम्म प्लाष्टिकमा प्याक गरेर राखिएका बासी खानेकुराभन्दा आफ्ना दाजुभाइलाई सकेसम्म घरमै बनाएको खानेकुरा दिनु राम्रो हुन्छ।