ट्रम्पसँग आगो बने टर्किस राष्ट्रपति, डस्टबिनमा मिल्काइदिए चिठी

64

असोज ३०,

एजेन्सी : कुर्द विद्रोहीमाथिको सैन्य कारबाही रोक्न आग्रह गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको चिठी टर्कीका राष्ट्रपति ताइप एड्रोगानले डस्टबिनमा मिल्काइदिएका छन्। बीबीसीले जनाएअनुसार, सिरियाबाट आफ्नो सेना फिर्ता गरेका ट्रम्पले टर्किस समकक्षी एड्रोगानलाई ८ दिनअघि उक्त चिठी पठाएका थिए। चिठीमा ट्रम्पले भनेका थिए, ‘अर्घेल्याँईं नगर्नुस्, मूर्ख नबन्‍नुस्!’ जवाफमा एड्रोगानले ट्रम्पको अनुरोध अस्वीकारमात्रै गरेनन्, चिठी नै मिल्काइदिए। ट्रम्पको चिठी प्राप्त भएको भोलिपल्टै टर्कीले कुर्दिस विद्रोहीविरुद्ध कारबाही चलाएको थियो। ‘हामी एउटा समझदारी बनाऔं! तपाईं पनि आफूमाथि हजारौं मान्छेको हत्या गरेको बात लागोस् भन्ने चाहनुहुन्न, म पनि टर्किस अर्थतन्त्र ध्वस्त पारेको अवगाल झेल्न चाहन्न, जुन मैले गर्नुपर्नेछ,’ ट्रम्पको चिठीमा भनिएको थियो, ‘तपाईंले ठीक र मानवीय कार्य गर्नुभएमा इतिहासले सम्मान गर्नेछ, अन्यथा तपाईं दानव ठहरिनुहुनेछ।’ टर्किस स्रोतलाई उधृत गर्दै बीबीसीले लेखेको छ, ‘चिठी प्राप्त गर्नासाथ एड्रोगानले ट्रम्पको अनुरोध अस्वीकार गरेर चिठीलाई डस्टबिनमा फ्याँकिदिए।’ सिरियाबाट सेना फिर्ता गरेको विषयमा ट्रम्पले चर्को आलोचना खेपिरहेका छन्। आलोचकहरुले भनेका छन्, सिरियाबाट सेना फिर्ता गरेर अमेरिकाले टर्कीलाई सैन्य कारबाही चलाउने बाटो खोलिदिएको छ। अरू त अरू, ट्रम्पकै पार्टीकाले पनि उनको आलोचना गरेका छन्। उता, कुर्द विद्रोहीलक्षित कारबाहीको लागि एड्रोगानको पनि पार्टीभित्रैबाट विरोध भएको छ। के चाहन्छ टर्की? पछिल्लो एकसातादेखि टर्की र टर्कीसमर्थित सिरियाली विद्रोहीले कुर्द विद्रोहीलाई टर्कीको सीमा क्षेत्रबाट लखेट्ने कोशिश गरिरहेका छन्। टर्की सरकार कुर्द विद्रोहीलाई ‘चरमपन्थी’ मान्छ। सिरियामा युद्धविरामको लागि अमेरिकी पहलको विरोध गर्दै एड्रोगानले भनेका छन्, ‘सेफ जोन तयार नहुँदासम्म टर्की सरकार पछि हट्नेछैन।’ सीमावर्ती सिरियाली क्षेत्रबाट कुर्द विद्रोहीलाई धपाएर ‘सेफ जोन’ तयार गर्ने ध्याउन्नमा रहेको टर्की, त्यहाँ २० लाख सिरियाली शरणार्थीलाई पुनर्स्थापित गर्न चाहन्छ। अमेरिकासँग छलफल गर्न अस्वीकार गर्दै आएका एड्रोगानले भनेका थिए, ‘यदि वार्ता हुन्छ भने ट्रम्प भेट्न आएमात्रै हुन्छ, अरुसँग हुँदैन।’ ट्रम्प त गएनन्, उनको चिठी गयो, जसलाई एड्रोगानले डस्टबिनमा मिल्काइदिए।