करिडोर निर्माणले गर्दा हनुमन्तेको बाढी बस्तीमा पसेनः सांसद बस्नेत

345

असोज २६,
भक्तपुर । सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस भक्तपुरमा आजबाट सुरु भएको छ । कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुर विपदको जोखिममा रहेको औल्याउदै उहाँले चारवटै नगरपालिकाले विपद न्यूनिकरणका लागि आवश्यक कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । भक्तपुरलाई विपदको जोखिम मुक्त बनाउने कार्यक्रम स्थानीय तहले ल्याउनु पर्नेमा जोड दिदै उहाँले आफ्नो पहलमा सुरु भएको हनुमन्ते करिडोरले हनुमन्तेमा आएको बाढी रोक्न सफल भएको बताउनुभयो । उहाँले विपदमा उद्धार गर्ने सामाग्री खरिद गरेर भण्डारण भएकाले अब त्यस्ता सामाग्री खोज्दै हिड्नु पर्ने अबस्था भने नभएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भक्तपुरलाई विपद व्यबस्थापनबाट मजबुद बनाउन तयारी पर्याप्त रहेको बताउदै तत्काल उद्धार एवं रोकथाम गर्न सकिने अबस्थामा रहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई) ले विपदबाट जोगिन र जोगाउन सबै निकाय क्रियाशिल रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा ३ नं. प्रदेशका सांसद सरस्वती वाटी, रजनी जोन्छे, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, प्रहरी उपरीक्षक सविन प्रधान, नेपाल रेडक्रस सोसाईटी लगायत बिभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २७ गते सूर्यविनायक नगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटीले विपद व्यबस्थापनकाबारेमा कृतिम अभ्यास गर्ने, २८ गते चाँगुनारायण नगरपालिका र रेडक्रस भक्तपुरले विपद व्यबस्थापनकाबारेमा क्षमता विकास तालिम र अन्तरक्रिया गर्ने, २९ गते सूर्यविनायक नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ भक्तपुरले विपद व्यबस्थापनकाबारेमा प्रचार प्रसारका सामाग्री निर्माण गर्ने, प्रर्दशनी गर्ने, रेडियो संवाद र जिंगल निर्माण गर्ने भएको छ ।
त्यस्तै ३० गते चाँगुनारायण, १ गते मध्यपुरथिमि र २ गते भक्तपुर नगरपालिकाले विपद जोखिम न्यूनिकरणमा स्थानीय सरकारको भूमिका विषयक अन्तक्रिया गर्ने भएको गैसस अध्यक्ष बजगाईले जानकारी दिनुभयो ।
दिवसको पहिलो दिन आज जिल्ला विपद व्यबस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति भक्तपुर र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरको व्यबस्थापनमा र्यालीको आयोजना गरेको छ । विपदबाट जोगिने र जोगाउनेबारे जनचेतना फैलाउने उदेश्यले आज पहिलो दिन भक्तपुरको तौमढीबाट सुरु भएको र्याली सुकुलढोका, दत्तात्रय हुदै कमलविनायकमा पुगेर सभामा परिणत भएको थियो ।