कर्णालीका मुख्यमन्त्रीको नक्कली फेसबुकबाट सुरक्षा अधिकारीलाई निर्देशन

202

असोज १२,
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली फेसबुक खाता खोलिएको भन्दै मुख्यमन्त्रीको सचिवालयले ध्यानाकर्षण जनाएको छ। मुख्यमन्त्री शाहीको नाममा बनाइएको नक्कली खाताबाट अवाञ्छित क्रियाकलाप भइरहेको सचिवालयले जनाएको छ।सामाजिक सञ्जालको दुरूपयोग गरी मुख्यमन्त्रीको चरित्र हत्या गर्नुका साथै आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यका साथ कसैले उनको नाममा खाता खोलेको हुनसक्ने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए।

उनका अनुसार मुख्यमन्त्रीका नाममा बनाइएको उक्त खाताबाट सुरक्षा अधिकारीलाई निर्देशन दिने काम भएको पाइएको छ। ‘दुइटा आइडी भेटियो, हामीले खोज्दै जाँदा मेजरहरूलाई निर्देशनसहितको म्यासेज गएको पाइयो’, प्रमुख स्वकीय सचिव सिंहले भने।

मुख्यमन्त्रीको नाममा नक्कली फेसबुक आइडी बनाउने व्यक्तिको खोजी कार्य सम्बन्धित संयन्त्र परिचालन गरेर भइरहेको उनले जानकारी दिए। मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउण्टको लिंक facebook.com/mahendra.shahi.165 रहेको र त्यसबाहेक अन्य लिंक खुल्ने एकाउण्टप्रति विश्वस्त नहुन सचिवालयले आग्रह समेत गरेको छ ।

‘सामाजिक सञ्जालको दुरूपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्क गरी अवाञ्छित निर्देशन दिने तथा माग गर्ने गरिएको पाइएको छ, यस्तो क्रियाकलापको भ्रममा नपर्न विनम्र अनुरोध छ,’ मुख्यमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।