डा. अरूणा उप्रेती, (नेपाल समाचारपत्र )
असोज २,
‘३० वर्षको उमेर पुगेपछि हड्डी कमजोर हुँदै जान्छ, त्यसैले हर्लिक्स खानुपर्छ, यसले शरीरमा क्यालोरी दिन्छ’ भन्ने भ्रामक विज्ञापन नेपाली टेलिभिजनहरूमा प्रसारण भएको देखिन्छ। यस्तै हर्लिक्स, बनभिटा आदिको अर्को विज्ञापनमा चाहिँ यी वस्तु खाँदा बच्चाहरू फूर्तिलो, अग्लो, बुद्धिवान् हुन्छन् भनेर प्रसारण–प्रकाशन भएको देखिन्छ। यी विज्ञापन भ्रामक भए पनि बारम्बार प्रसारण हुने हुनाले आममानिसले विश्वास गर्छन्।
हर्लिक्सको वर्गमा पर्ने भिभा, बनभिटा, कम्प्लान आदि जौ, गहुँ, दूध, चिनी आदिबाट बनेका हुन्छन्। बिक्रीका लागि सञ्चारमाध्यममा बढाईचढाई गरी विज्ञापन गरिन्छ भन्ने विचार प्रायः कसैले गर्दैनन्। आममानिसको ‘सेन्टिमेन्ट क्याच’ गर्न यस्ता खानेकुराको विज्ञापनमा ‘सेलिब्रेटी’ को प्रयोग गरिएको हुन्छ। फिल्मी कलाकार, खेलाडी आदिले ‘यो खानेकुरा पौष्टिक छ, यो खाँदा बुद्धि बढ्छ, हड्डी बलियो बनाउँछ, उचाइ बढ्छ’ भनेपछि सर्वसाधारण ‘हो त नि’ भन्ने ठान्छन्। फाइदा नहुने भए त्यत्रा फिल्मी कलाकार, डाक्टरले किन बयान गर्थे भन्ने सोचेका हुन्छन्।
‘एउटै कुरा बारम्बार भनेपछि झूटो पनि सत्य हुन्छ’ भन्ने मानसिकता विज्ञापनदाताको हुन्छ र उपभोक्ता फन्दामा पर्छन्। कतिपय मानिसले त स्वास्थ्यकर्मीले पनि खाऊ भन्छन् भन्ने बुझेका छन्। कुनै ठाउँमा हर्लिक्सको व्यापारीका छोराछोरीले नै पढाइमा टपेको, खेलमा जितेको भन्ने समाचार मैले त अहिलेसम्म सुनेकी छैन। बरु उनीहरूलाई चिनी मिसिएका यस्ता खानेकुरा धेरै खुवाएमा भविष्यमा स्वास्थ्यमा हानि पुग्न सक्छ।
तर, मलाई पूर्ण विश्वास छ, स्वास्थ्यकर्मीले यस्तो गलत कुरा भन्दैनन्। विज्ञापनमा स्वास्थ्यकर्मीको रूपधारण गरेका मोडलहरूले मात्र यो कुरा भनिरहेका हुन्छन्। त्यस्ता मोडललाई प्रायः आफूले बोलेका कुरा ठीक वा बेठीक भन्नेबारे मतलव पनि हुँदैन। उनीहरूलाई पारिश्रमिकको मात्र मतलव हुन्छ।
मनपरि प्रचारमा किन छुट ?
हर्लिक्स कम्पनीले बेलायत, अमेरिका जस्ता विकसित राष्ट्रमा यस किसिमको प्रचार गर्न पाउँदैन। ती राष्ट्रमा नीति नियम कडा भएकाले गलत कुरा प्रचार गर्न दिँदैनन्।
हाम्रो देशमा पनि त्यस किसिमका कानुन, नियमहरू भए पनि कार्यान्वयन फितलो भएका कारण जसले जे बोल्न, जे प्रचार गर्न पनि छुट पाएको देखिन्छ। यसले गर्दा सर्वसाधारण उपभोक्ता भ्रममा परेका तथा ठगिएका छन्। सञ्चारमाध्यममा ‘१० जनामध्ये ९ जना बच्चा कुपोषणको शिकार भएका हुन्छन्, उनीहरूलाई स्वस्थ बनाउन हर्लिक्स दिनुपर्छ’ भन्ने आशयको गलत विज्ञापन सेतो कोट लगाएर डाक्टरको रूप बनाएको मानिसले भनेको सुनेपछि मानिस यसको विश्वासमा पर्छन्। तर, यस्तो किसिमको अध्ययन नेपालको कुन ठाउँमा वा कुन देशमा भयो, जहाँ १० मध्ये ९ जना बच्चा कुपोषणको शिकार भएका छन् भन्नेचाहिँ कहिल्यै पनि खुलाइँदैन।
के नेपालमा त्यस्ता कुनै ठाउँमा हर्लिक्स कम्पनीले अध्ययन गरेको छ रु छ भने अनुसन्धान रिपोर्ट सार्वजनिक गर्नुपर्छ। तर, यस्तो गरेको देखिन्न। त्यसै गरी बनभिटाको विज्ञापनमा एक आमाले आफ्नो छोरालाई खेलाडी बनाउन भरमग्दुर प्रयास गरेको र बच्चा सफल खेलाडी हुनमा बनभिटाले ठूलो भूमिका खेलेको देखाइन्छ।
गलत विज्ञापनको प्रभावमा परेका आमाबुबा प्रायः छोराछोरीलाई बलियो, बुद्धिमान्, अग्लो बनाउने सुरमा घरमा भएका सस्ता र बढी पौष्टिक खानेकुरा छोडेर हर्लिक्स, बनभिटा, कम्प्लान जस्ता महँगा तर न्यून पौष्टिकवाला खानेकुरामा धेरै पैसा खर्च गर्छन्। विज्ञापनमा भनेजस्तो यी खानेकुराले हड्डी बलियो बनाउने, बुद्धि बढाउने, शरीरको लम्बाइ बढाउने केही काम गर्दैनन्। बरु फजुल खर्च बढाउने काम मात्रै गर्छन्। यदि हर्लिक्स, बनभिटा खाएर हड्डी बलियो हुने, बुद्धि बढ्ने, उचाइ बढ्ने हुन्थ्यो भने ती कम्पनीका मालिक, हर्लिक्सका व्यापारी र कामदारका छोराछोरी, आफन्त सबै अग्ला, बलवान् र बुद्धिमान् हुन्थे होलान्।
तर, कुनै ठाउँमा हर्लिक्सको व्यापारीका छोराछोरीले नै पढाइमा टपेको, खेलमा जितेको भन्ने समाचार मैले त अहिलेसम्म सुनेकी छैन। बरु उनीहरूलाई चिनी मिसिएका यस्ता खानेकुरा धेरै खुवाएमा भविष्यमा स्वास्थ्यमा हानि पुग्न सक्छ। यस किसिमका विज्ञापन रोक्न र सर्वसाधारणमा भ्रम फैलाउने काम बन्द गर्न मैले स्वास्थ्य मन्त्रालयमा धेरैचोटि भनिसकेकी छु तर वास्ता गरिएन। त्यसैले सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनबाट लेख, अन्तर्वार्तामार्फत हर्लिक्स, बनभिटा आदि वस्तुका वास्तविकताबारे उजागर गर्ने गर्छु।
धेरै अभिभावकले मसँगको भेटमा ‘तपाईंको विचार सुनेपछि हामीले बजारका यस्ता खानेकुरा छोडेर घरमै सातु बनाएर दिन थालेका छौं’ भन्नुभएको छ। कमसेकम केही अभिभावकले यसो भन्दा पनि मेरो अभियानले सफलता प्रात गरेजस्तो लाग्छ।
कोदो बेचेर हर्लिक्स !
विज्ञापनका भरमा परेर यस्ता पदार्थ खानु खासै फाइदा रहेनछ भन्ने चेतना शहरी क्षेत्रमा शुरू भएको छ। तर, गाउँघरमा चाहिँ गहुँ, कोदो बेचेर हर्लिक्स, बनभिटा, सेरलेक आदि किन्छन्। घरमा भएको सातु, मकै, फलफूल खान छोडेर धेरै विज्ञापन गरिएका बजारका खानेकुरा बढी उपभोग गर्न थालेका छन्। यसले बालबालिका कुपोषणको शिकार बनिरहेका छन्। घरमै पाइने स्वस्थकर अन्न सस्तोमा बेचेर महँगोमा अस्वस्थकर खानेकुरा किन्ने बानी छोड्नुपर्छ। घरमा भएको कागती–पानी खान छोडेर बजारका चिसो पेय खाने, घरको मकै बेचेर महँगो कर्नफेल्क्स किन्ने बानी छोड्नुपर्छ।
अस्पताल वा घरमा बिरामी भेट्न जाँदा हर्लिक्स, भिभा वा विभिन्न किसिमका बट्टाका जुस बोकेर जाने चलन बढ्दै छ तर यसको कुनै औचित्य छैन भन्ने बुझ्नुपर्छ। अझ मधुमेह भएको बिरामीलाई त हर्लिक्स, बनभिटा, बट्टाको जुसले त झन् खराब गर्छ। घरमै पाइने र ५० देखि ६० रुपियाँ पर्ने जौ, गहुँबाट बनेको हर्लिक्स, भिभा, बनभिटाजस्ता खानेकुरा अहिले बजारमा प्रतिकिलो ७ देखि ८ सय रुपियाँमा बिक्री हुन्छ।