मध्यपुर ३ मा विकास–निर्माणको काम हेरेपछि……..

2

अन्तरक्रिया कार्यक्रम
भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णहरी आचार्यले भौतिक पूर्वाधार विकाससँगै जनताको चेतनास्तर अभिवृद्धि गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुर थिमि नपा. ३ को सहकार्यमा आइतबार आयोजना गरेको वडागत विकास तथा सामाजिक कार्यहरूको स्थलगत अवलोकन एवं अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष आचार्यले यस्तो वताएका हुन् । उनले भने – ‘स्थानीय जनप्रतिनिधिहरू राज्य–सरकार र जनताबीच पुलका रूपमा रहेका हुन्छन् ।’सञ्चार केन्द्र नेपालले मध्यपुर थिमि वडा नं ३ सँगको सहकार्यमा आइतबार सृजनात्मक कार्यक्रम आयोजना गरेको थियो । मध्यपुर थिमी वडा नं ३ ले सम्पन्न गरेका विकास निर्माणका केही योजना अवलोकन गरेर सुरु भएको अन्तरक्रिया कार्यक्रममा दुई दर्जनजति पत्रकारहरुको उपस्थिती रहेको थियो ।

नगरको प्रवक्ता समेत रहेका ३ नं वडा अध्यक्ष कृष्णहरी आचार्यले कार्यक्रममा खुलेर आफ्ना कुरा राखेका थिए । त्यसक्रममा उनले तीनवटै तहका जनप्रतिनिधिले सिंहदरबारका नीति तथा कार्यक्रम गाउँ–टोलसम्म पु¥याउने र जनताका आवश्यकता तथा समस्यालाई सिंहदरबारसम्म पु¥याउने जिम्मेवारी निर्वाह गरिरहेको बताए । ‘विकास र समृद्धिप्रति जनताको चाहना, आवश्यकता र मागलाई यथोचित सम्बोधन गर्नुपर्छ,’ वडाध्यक्ष आचार्यले भने, ‘भौतिक विकाससँगै जनताको चेतनास्तर अभिवृद्धि गर्नुपर्ने महत्वपूर्ण अवस्था सिर्जना भएको छ ।’ उनले बजेटबाट मात्र विकास सम्भव नहुने उल्लेख गर्दै नेतृत्वको साहस, इच्छाशक्ति र लगनशीलताले पनि समृद्धि हासिल गर्न सकिने बताए । ‘वडा जागृत हुनु भनेको विकासको मेरुदण्ड बलियो हुनु हो,’ उनले भने, ‘जहाँ परिपक्व निर्णय आवश्यक हुन्छ, त्यहाँ छलफलमार्फत निष्कर्षमा पुगेर विकासलाई अघि बढाउनुपर्छ ।’ जनप्रतिनिधि शासक नभई सेवक भएको धारणा व्यक्त गर्दै उनले जनप्रतिनिधित्वलाई सेवाको माध्यमका रूपमा बुझ्नुपर्ने बताए । ‘जनप्रतिनिधि भनेको सेवा हो,’ उनले भने, ‘म जनतालाई केही दिन सक्छु भन्ने भावना राख्ने व्यक्ति मात्र सफल जनप्रतिनिधि बन्न सक्छ ।’

वडाध्यक्ष आचार्यले वडा कार्यालयले भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक सुरक्षा, स्वास्थ्योपचार, शिक्षा तथा अन्य जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । ‘हामी भौतिक विकाससँगै जनतासँगको साथीत्वको विकास गरिरहेका छौं,’ उनले भने, ‘जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी सिंहदरबारका अधिकारहरू घरघरमा पु¥याउने प्रयास गरेका छौं ।’ उनले वडाका विभिन्न टोल–टोलमा पुगेर स्थानीयवासीको माग, चाहना र आवश्यकताका आधारमा विकास योजना छनोट गरिएको बताए ।
‘२०७४ सालमा जनप्रतिनिधि बनेपछि आफ्नो घरपरिवारलाई दिने समयसमेत घटाएर जनताको सुख–दुःखमा सहभागी हुँदै आएको छु,’ उनले भने, ‘जनताको घरपरिवार र उनीहरूको समस्या समाधानलाई नै आफ्नो जीवन यात्राको मुख्य जिम्मेवारी बनाएको छु ।’ उनले २०७४ सालयता वडा नं. ३ मा उल्लेखनीय विकास भएको दाबी समेत गरे । ‘तीनवटै तहका सरकारको साथ र सहयोगमा जनपक्षीय काममा इतिहास नै बनाएका छौं,’ उनले भने, “कल्पना गरेभन्दा धेरै काम सम्पन्न भएका छन् ।’ उनले वडामा सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरूको चर्चा गर्दै कतिपय क्षेत्रमा केन्द्र सरकारले समेत गर्न कठिन हुने प्रकृतिका कामहरू स्थानीय तहले सम्पन्न गरेको दाबी गरे ।
नगरपालिकाले व्यवहारिक ज्ञान र नैतिक शिक्षालाई प्राथमिकतामा राखेर सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरेको जानकारी दिँदै उनले प्रत्येक शुक्रबारलाई ‘बुक फ्रि डे’ का रूपमा सञ्चालन गर्न थालिएको बताए । ‘हामीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक र जीविकोपार्जनसँग सम्बन्धित शिक्षा दिन सुरु गरेका छौं,” उनले भने, ‘शुक्रबारलाई बुक फ्रि डे बनाएर फरक ढंगबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेका छौं ।’

उनका अनुसार सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको छ । ‘अहिले सामुदायिक विद्यालयमा भर्ना नै नपाउने अवस्था बनेको छ,’ उनले भने, ‘विद्यार्थीको चाप अत्यधिक बढिरहेको छ ।’
चालु आर्थिक वर्षमा कार्यपालिकाबाट वडा नं. ३ लाई दुई करोड एक लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिँदै उनले संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा वार्षिक १२ देखि १३ करोड रुपैयाँ बराबरका योजना सञ्चालन भइरहेको बताए । उनका अनुसार हालसम्म ८० प्रतिशतभन्दा बढी योजना सम्पन्न भइसकेका छन् ।

‘केही योजनाहरू ठेक्का लागिसकेका छन्,’ उनले भने, ‘महँगीका कारण निर्माण कार्यमा केही अवरोध भए पनि विकास निर्माणका कामहरू निरन्तर अगाडि बढिरहेका छन् ।’ सार्वजनिक जग्गा संरक्षणमा वडा सक्रिय रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा कुनै कमी नराखिएको दाबी गरे । वडामा पछिल्लो समय सीसीटिभी जडान तथा सडक बत्ती विस्तारको माग बढ्दै गएको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षका लागि टोल–टोलबाट करिब ९० वटा योजना माग भइसकेको बताए ।
विकासमा पक्ष वा विपक्ष नहुने उल्लेख गर्दै उनले जनताको घरदैलोमा पुगेर आवश्यक कामको खोजी गरिरहेको बताए । ‘आफ्नो वडा सुन्दर बनाउन सके देश आफैं सुन्दर बन्छ,’ उनले भने ।

कार्यक्रममा विशेष अतिथिका रुपमा गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनाबाबु बस्नेतले विकासलाई जनतासँग जोड्नुपर्ने आवश्यकता औंल्याए । उनले दिगो विकासका लागि सामाजिक अडिट अपरिहार्य बन्दै गएको बताउँदै बजेटभन्दा पनि सोच र दृष्टिकोण महत्वपूर्ण हुने धारणा राखे । नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा बरिष्ठ पत्रकार रामजी दाहालले विकास निर्माणका गतिविधिसँग पत्रकारितालाई जोड्नु सकारात्मक अभ्यास भएको बताए । उनले सकारात्मक परिवर्तन विकासको आधार भएको उल्लेख गर्दै साना–साना विकासका प्रयासबाट नै ठूला उपलब्धि हासिल गर्न सकिने बताए । ‘विकासको सशक्त माध्यम नै पत्रकारिता हो,’ उनले भने, ‘राम्रा अभ्यास र सकारात्मक कामलाई समाजसमक्ष ल्याउनु पत्रकारिताको महत्वपूर्ण दायित्व हो ।’ कार्यक्रमअघि सहभागीहरूले डाँफे टोलमा वडाले संरक्षण गरेको सार्वजनिक जग्गा, गठ्ठाघर चोकको भित्री सडकमा बिछ्याइएको ब्लक तथा गठ्ठाघर चोकदेखि कोरियन अस्पताल जाने सडकखण्डको स्थलगत अवलोकन गरेका थिए ।

स्थलगत अवलोकनका क्रममा सहभागीहरूले वडाले सञ्चालन गरेका विकास निर्माणका कार्य, सार्वजनिक सम्पत्ति संरक्षण तथा स्थानीय आवश्यकतामा आधारित योजनाहरूको जानकारी लिएका थिए । स्थलगत अवलोकन पछि गठ्ठाघरस्थित राष्ट्रिय सञ्चार केन्द्र नेपालको सभाहलका कार्यक्रम सुरु भएको थियो । राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । संस्थाका सल्लाहकार दिवस गुरागाईंले विषय प्रवेश गराएको कार्यक्रममा आयोजक संस्थाका सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।