Saturday, September 26, 2026
Home पत्रपत्रिका ‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

59

नेपाल समाचारपत्र
भदौं २९, काठमाडौं। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित हुन सकेन। संघीय संसद्को राज्य व्यवस्था समितिमा जारी छलफलका क्रममा कांग्रेसका सांसदहरूले विदेशी ज्वाइँ र विदेशी बुहारीले नेपाली नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग उठाएपछि सहमति हुन नसकेको हो।

राजनीतिक दलबीच सहमति गरेर २०६३ सालको ऐन जारी गरेको स्मरण गराउँदै प्रमुख प्रतिपक्षी दलले सो ऐनमा विदेशी बुहारीले विदेशको नागरिकता छाडेपछि नेपाली नागरिकता पाउने प्रावधान रहेको र अहिले पनि सोही प्रावधान कायम राख्नुपर्ने अडान लिएको छ। बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले विदेशी ज्वाइँलाई किन १५ वर्षपछि नागरिकता दिने भन्ने प्रश्न गर्नुभयो। सरकारले संशोधन विधेयक ल्याए पनि त्यसलाई स्पष्ट पार्न नसकेको आरोप लगाउँदै सरकारले अँध्यारोमा ढुंगा हान्ने प्रयास गरिरहेको बताउनुभयो।