चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

129

नेपाल समाचारपत्र
भदौं २२, काठमाडौं। तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै हुनुहुन्छ। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विभिन्न विषयमा छलफल गर्न उहाँको भ्रमण केन्द्रित हुँदै छ। सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहनुभएका वाङ तीन दिन काठमाडौंमा रहनुहुनेछ।

राजनीतिक संक्रमणकाल टुङ्ग्याएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो। सीको नेपाल भ्रमण उपर्युक्त समयमा हुने चीनले जवाफ पठाए पनि त्यसको औपचारिक मिति भने अझै तय नभएको तर वाङको अहिलेको भ्रमणले यसबारेमा वातावरण बनाउन सक्ने ज्ञवालीको भनाइ छ। ‘हामीले लामो समयदेखि चिनियाँ उच्च राजनीतिक नेतृत्वबाट भ्रमणको प्रतीक्षा गरेका छौं, चीनजस्तो घनिष्ठ मित्र र त्यहाँको उच्च राजनीतिक नेतृत्वको आगमन हाम्रा लागि उत्साहको विषय हुनेछ।’