Friday, September 18, 2026
Home पत्रपत्रिका हाउजिङको चरम हेलचेक्र्याइ

हाउजिङको चरम हेलचेक्र्याइ

150
तस्बिर: कुमार सञ्जयको फेसबुकबाट।

नेपाल समाचारपत्र
भदौं २२, काठमाडौं। हाउजिङ कम्पनी ग्रिनहिल सिटी प्रालिले काठमाडौंको मूलपानीमा निर्माण गरेको घर मंगलबार राति भत्किएपछि निर्माण कम्पनीको क्षमता र गाम्भीर्यमाथि उपभोक्ताहरूले प्रश्न उठाएका छन्। ‘ग्रिनहिल सिटी आवास निर्माण कम्पनीको चरम लापरबाही हो यो, मानिसले जीवनभर बस्नुपर्ने र सुरक्षित भएको अनुभव गर्न पाउनुपर्ने घर पिँध नभएको लोटाजस्तो पिल्टिक्क ढल्यो।’ –स्थानीय विष्णु गुरागाईंले नेपाल समाचारपत्रसँग गुनासो पोख्नुभयो। ‘स्थलगत अध्ययन गर्दा घरका लागि बनेको सपोर्टिङ वाल ढलेपछि घर पल्टिएको देखिन्छ। भवन बनाउनुपूर्व ढुङ्गाको मजबुत पर्खाल लगाइएको भए पुरिएको माटैसहित घर बग्ने थिएन।’ –गुरागाईंले भन्नुभयो।

जसरीतसरी निर्माण गर्ने अनि सोझासाझाको आँखामा छारो हाल्ने नियतका कारण भवन भत्किएको भन्दै अर्का स्थानीय स्थानीय लक्ष्मीप्रसाद कँडेलको टिप्पणी थियो– ‘पहिरोनजिकका स्थानीयका नौवटा भवन अहिले पनि जोखिमा छन्, भत्किएको घरसंँगैको कम्पनीको तेस्रो घर पनि ठूलो वर्षा भएमा भत्कने जोखिममा देखिन्छ।’ ग्रिनहिल सिटी आवास निर्माण कम्पनी हो। यसले घर बनाएर सेवाग्राहीलाई हस्तान्तरण गर्छ। तर, बिना कुनै प्राकृतिक प्रकोप निर्माणाधीन भवन भत्किएपछि भवन खरिद गरी बसोबास गरेका दुई सय परिवारको मनमा समेत चिसो पसेको छ।

चार वर्षअघि ग्रिनहिल सिटी हाउजिङ कम्पनीले मूलपानीमा निर्माण गरेको घर खरिद गरेका विष्णुराज पौडेल ‘किरण’ अहिले ग्रिनहिल सिटी उपभोक्ता समाजका अध्यक्ष हुनुहुन्छ। समाज हाउजिङ कम्पनीसँग आधारभूत सुरक्षाका लागि संघर्ष गरिरहेको छ। हालसालै भत्किएको भवनको हवाला दिँदै पौडेल भन्नुहुन्छ– ‘अब यो घरको कुरा मात्र रहेन। सबै घरको माटो परीक्षण गरिनुपर्छ। कति मिटर तलसम्म जानुपर्ने हो, इन्जिनियरले भनेबमोजिम गर्नुपर्छ।’ उहाँका अनुसार मजबुत पर्खाल निर्माण नगरी घर बनाइएकाले स्थानीयको ९–१० वटा घर अहिले पनि जोखिमा छन्।

उहाँका अनुसार कतिपय स्थानीयको घर पहिरो गएको स्थानबाट ६–७ फिटको दूरीमा मात्र रहेकाले बढी असुरक्षामा छन्, त्यहाँ केही भए हाउजिङ कम्पनीले जिम्मेवारी लिनुपर्छ। होमबहादुर राना मगरको घर पहिरो गएको स्थानभन्दा ६–७ फिट मात्र पर रहेको छ। अगाडिको निर्माणाधीन घर पहिरोले लगेपछि आफ्नो घर भत्कने जोखिम बढेको उहाँ बताउनुहुन्छ।

‘ढुंगाको पर्खाल लगाएको भए त्यो घर भत्कने नै थिएन। मात्र ९ इन्चको ढलानले यतिधेरै माटोको वजन कसरी थाम्न सक्नुरु माटो हाल्ने बेलामै थाम्न नसकेर पर्खाल चर्किएको थियो। मैले भनेको कम्पनीले सुनेन। अहिले देखियो’, रानाले भन्नुभयो– ‘कम्पनीले ढुङ्गाको बलियो पर्खाल जगैबाट लगाइदेओस्, अहिलेलाई हाम्रो माग यत्ति हो।’ भवन किन भत्किएको होला भनेर नेपाल समाचारपत्रले गरेको प्रश्नको उत्तरमा माटोको थुप्रोमा पानी मिसिएपछि प्रेसर धान्न नसकी पहिरो गएको ग्रिहहिल सिटी हाउजिङको घर नंं। १ सय २४ का धनी गम्भीर सिंह जिजी बताउनुहुन्छ।

मंगलबार राति २ बजेतिर छरछिमेकीको निद्रा बिगार्दै भत्किएको भवन कामै नलाग्ने गरी ध्वस्त भएको छ। संयोगवश कुनै मानवीय क्षति भने भएको छैन। कार प्रोच, ग्रिन गार्डनिङ, इन्डिभिजुयल वाउन्ड्री, गुड अकोमोडेसनको दाबा गरिएको उक्त भवन साढे दुई तल्ले रहेको थियो।