जिग्री–पाँडे विना नै आजबाट आउने भयो भद्रगोल !

563

भदौ २०,
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने बहुचर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ नयाँ कलाकार र नयाँ कथावस्तुका साथ आउने भएको छ । नयाँ कथावस्तुको भद्रगोल आजै शुक्रवारबाट प्रसारण हुने निर्देशक ज्योति काफ्लेले फेसबूकमार्फत जानकारी दिएका छन् । अब भद्रगोलको निर्देशन नक्कली बाबुरामको रूपमा पहिचान बनाएका काफ्ले र भद्रगोलमा बाहुन डनको भूमिकामा देखिँदै आएका अशोक धितालले संयुक्त रूपमा गर्ने भएका छन् ।

‘नेपाल टेलिभिजनबाट प्रसारण हुने बहुचर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ आज २०७६ साल भाद्र २० गते शुक्रवार बेलुका 8:50 बजे (ज्योति काफ्ले र अशोक धिताल ) बाट निर्देशन साथै अभिनयमार्फत पुनः आउने भएका छौं,’ काफ्लेले फेसबूकमा लेखेका छन्, ‘भद्रगोलप्रतिको माया र सद्भाव सधैँ झैं दिनुहुनेछ भन्ने आशा लिएको छु । साथै मलाई निर्देशनमा र कलाकारितामा विश्वास गरी यो गहन जिम्मेवारी दिनुहुने अग्रज तथा अभिभावक एवं मिडिया हब प्रालिका प्रबन्ध निर्देशक सोम धिताल सरप्रति धेरै–धेरै आभारी छु । जय नाट्यश्वरी माता !!’

निर्देशक काफ्लेले मंगल थारु र धितालले बाहुन डनकै भूमिका निभाउने बताइएको छ । यसअघि भद्रगोललाई चर्चित बनाउन भूमिका खेलेका अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’ लगायत कलाकार भने अब भद्रगोलमा देखिने छैनन् ।