भारत र स्वीट्जरल्याण्डबीच बैंकिङ सूचना आदानप्रदान गर्ने सम्झौता

228

एजेन्सी, भदौ १५,
काठमाडौं । भारत र स्वीट्जरल्याण्डबीच भएको बैंकिङ सूचना स्वतः आदानप्रदान गर्ने सम्झौता भएपछि आइतबार अर्थात् सेप्टेम्बर १ देखि कोको भारतीयको स्वीस बैङ्कमा खाता छ भन्ने पत्ता लाग्ने भएको छ ।  केन्द्रीय प्रत्यक्ष कार बोर्ड(सीबीडीटी)ले दुई देशीबच भएको सम्झौताले कालोधन विरुद्धको महत्वपूर्ण कदम भएको र स्वीस बैङ्कको गोपनीयता युगको अन्त्य हुने बताएको छ । सीबीडीटीले आयकर विभागका लागि नीति बनाउने गर्छ ।

सूचना आदान–प्रदान हुनुभन्दा पहिले स्वीट्जरल्याण्डका एक प्रतिनिधि मण्डलले अगष्ट २९–३०मा राजस्व सचिव एबी पाण्डे, बोर्डका अध्यक्ष पीसी मोदी र बोर्डका सदस्य अखिलेश रंजनसँग बैठक गरेको सीबीडीटीले जनाएको छ ।  वित्तीय खाताबारे जानकारी स्वतः आदान–प्रदान (एइओआई)का सुरुवात सेप्टेम्बरदेखि हुँदैछ । अब स्वीट्जरल्याण्डमा भारतीय नानगरिकको २०१८ मा बन्द भएका खाताको पनि जानकारी उपलब्ध हुनेछ ।

स्वीस बैङ्कले जुनमा ५० जना कारोबारकर्ताको नाम सार्वजनिक गरेको थियो 

यही वर्ष जुन महिनामा स्वीस सरकारले विदेशी बैङ्कमा कालोधन राख्ने ५० जना भारतीय कारोबारकर्ताको नाम सार्वजनिक गरेको थियो । स्वीस अधिकारीले खातावालालाई आफ्नो मुद्दा प्रस्तुत गर्नका लागि सूचना पठाएको थियो । यसमा सबैभन्दा धेरै कोलकता, मुम्बई, गुजरात र बैंगलोरका थिए । पछिल्लो एक वर्षमा १०० भन्दा बढी भारतीय खातावालाको नाम सार्वजनिक भइसकेको छ ।

स्वीस बैङ्कमा खाता हुनेमा बेलायत शीर्ष स्थानमा

स्वीस बैङ्कमा धेरै रकम राख्नेमा बेलायत सबैभन्दा अगाडि रहेको छ । स्वीस नेसनल बैङ्क(एसएनबी)ले यसै वर्षको जुन महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१८ मा कूल रकमको २६ प्रतिशत भाग बेलायती कारोबारकर्ताको रहेको उल्लेख छ । त्यहाँ रकम राख्ने भारतीय संख्यामा कमी भइरहेको छ । भारत अहिले ७४औं नम्बरमा पर्छ । पछिल्लो वर्ष भारतीयले जम्मा गर्ने रकममा ६ प्रतिशतले कमी आएको छ । गत वर्ष भारत ७३ औं स्थानमा रहेको थियो । स्वीस बैङ्कमा भारतीय नागरिकको हिस्सा ०.०७ प्रतिशत रहेको छ ।