Saturday, September 26, 2026
Home पत्रपत्रिका वर्किङ भिसामा नेपाल आउँछन् विदेशी

वर्किङ भिसामा नेपाल आउँछन् विदेशी

100

राजधानी दैनिक
भदौं १०, काठमाडौं। नेपालीहरू काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरू आउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार सन् २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्न भिसा अनुमति प्राप्त गरेका छन्् । विभागका अध्यागमन अधिकृत राजेश महर्जनले सन् २०१८ र २०१९ को अगस्टसम्म ३ हजार ६ सय ७२ जना विदेशी नागरिकले वर्किङ भिसा अनुमति प्राप्त गरेको जानकारी दिए ।

नेपालमा विभिन्न किसिमका ठूला योजना, सडक तथा पूर्वाधार निर्माणमा काम गर्न विदेशी निर्माण कम्पनीहरूले कामदार ल्याउने गरेका छन् । यसरी ल्याइएका कामदारलाई निर्माण अवधिभर कम्पनीहरूले नै राख्ने गरेका छन् । नेपालमा वर्किङ भिसामा चीन, जापान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, भुटान, बंगलादेशलगायतका मुलुकबाट विदेशी नागरिक आउने गरेका छन् । अन्य भिसामा प्रवेश आज्ञा लिएर काम गर्ने विदेशीका हकमा भने अध्यागमन विभागले कडाइ गर्ने गरेको छ । अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले वर्किङ भिसाबाहेक अन्य भिसामा आएकाले भने काम गरेको पाइए अध्यागमनले कारबाही गर्ने बताए । ‘प्रवेश स्वीकृति पाएको बाहेकका विषयमा कुनै पनि गतिविधि गर्न पाइँदैन,’ निर्देशक तिवारीले राजधानीसँग भने, ‘विपरीत भएको पाइए कारबाही गरिन्छ ।’