आफुसँग पतिले झगडा नै नगरी धेरै माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स

200

एजेन्सी, भदौ ८,
काठमाडौं । यूएईमा झगडा नभएकोमा एक महिलाले पतिसँग तलाक मागेकी छन् । फजराहको शरिया अदालत पुगेकी महिलाले भनिन्, ‘मेरा पति साह्रै सोझा छन् । बिहे भएदेखि उनले चर्को स्वरमा कुरा गरेका छैनन् । जहिले पनि उनी घरको काममा सघाउँछन् । कतिचोटि उनले आफैं खाना बनाएर पनि खुवाए ।

पतिको अपार प्रेममा म निसासिएको अनुभव गरिरहेकी छु । सबैथोक राम्रो भएकाले जिन्दगी नर्क जस्तो भएको छ ।’ आफ्नो कुरा चुपचाप मान्ने पति पाएकाले महिला वाक्कदिक्क भएकी छन् । केही विवाद होस् भनेर आफूले कोशिश गरेको तर विवाद हुनै नसकेको उनको भनाइ छ ।

तर अदालतले यो मुद्दा अगाडि बढाउन मानेन । पत्नीलाई उसले मुद्दा फिर्ता लिन आग्रह गर्‍यो । अदालतले भन्यो, ‘बिहेको एक वर्षमा नै निर्णय लिइहाल्नु उचित हुँदैन । हरेक व्यक्तिले गल्तीबाटै सिक्दै जाने हो ।’ अदालतमा महिलाका पतिले कुनै गल्ती नगरेको बताए । आफू उम्दा पति बन्न चाहेको अनि पत्नीलाई कुनै गुनासो नहोस् भन्ने चाहेको तर यही प्रेमले उसलाई तलाक माग्न बाध्य बनाएको उनले बताए ।

पत्नीले एकपटक तिम्रो तौल बढ्यो भन्दा उसलाई खुशी पार्नका लागि डाइटिङ र व्यायाम पनि गरेको पतिको भनाइ छ । त्यही चक्करमा उसको गोडो भाँचिएको थियो ।