Tuesday, September 22, 2026
Home अनौठो आफुसँग पतिले झगडा नै नगरी धेरै माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स

आफुसँग पतिले झगडा नै नगरी धेरै माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स

217

एजेन्सी, भदौ ८,
काठमाडौं । यूएईमा झगडा नभएकोमा एक महिलाले पतिसँग तलाक मागेकी छन् । फजराहको शरिया अदालत पुगेकी महिलाले भनिन्, ‘मेरा पति साह्रै सोझा छन् । बिहे भएदेखि उनले चर्को स्वरमा कुरा गरेका छैनन् । जहिले पनि उनी घरको काममा सघाउँछन् । कतिचोटि उनले आफैं खाना बनाएर पनि खुवाए ।

पतिको अपार प्रेममा म निसासिएको अनुभव गरिरहेकी छु । सबैथोक राम्रो भएकाले जिन्दगी नर्क जस्तो भएको छ ।’ आफ्नो कुरा चुपचाप मान्ने पति पाएकाले महिला वाक्कदिक्क भएकी छन् । केही विवाद होस् भनेर आफूले कोशिश गरेको तर विवाद हुनै नसकेको उनको भनाइ छ ।

तर अदालतले यो मुद्दा अगाडि बढाउन मानेन । पत्नीलाई उसले मुद्दा फिर्ता लिन आग्रह गर्‍यो । अदालतले भन्यो, ‘बिहेको एक वर्षमा नै निर्णय लिइहाल्नु उचित हुँदैन । हरेक व्यक्तिले गल्तीबाटै सिक्दै जाने हो ।’ अदालतमा महिलाका पतिले कुनै गल्ती नगरेको बताए । आफू उम्दा पति बन्न चाहेको अनि पत्नीलाई कुनै गुनासो नहोस् भन्ने चाहेको तर यही प्रेमले उसलाई तलाक माग्न बाध्य बनाएको उनले बताए ।

पत्नीले एकपटक तिम्रो तौल बढ्यो भन्दा उसलाई खुशी पार्नका लागि डाइटिङ र व्यायाम पनि गरेको पतिको भनाइ छ । त्यही चक्करमा उसको गोडो भाँचिएको थियो ।