टेको लगाएको जीर्ण भवनमा पठनपाठन

97

नागरिक दैनिक मंसिर १६,
सोलुखुम्बु । सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिका ३ स्थित नेचा एपेक्स एकेडेमीले जोखिम मोलेर विद्यार्थी पढाइरहेको छ। कक्षा ५ सम्म पढाइ हुने एकेडेमीले चिराचिरा परेको भवनमा काठको टेको लगाएर विद्यार्थी पढाउँदै आएको छ। निकै जीर्ण भवनमा अहिले नर्सरी र कक्षा ३ का बालबालिकालाई राखिएको छ। सुरक्षित विकल्प खोज्न दबाब दिए पनि विद्यालयले टेरपुच्छर नलगाएको अभिभावक विमला कट्टेलको गुनासो छ। ‘गत चैतमा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने समयमा अभिभावकले तत्काल विकल्प खोज्न दबाब दिएका थियोैं,’ उनले भनिन्, ‘एक महिनामै विकल्प खोज्ने आश्वासन अहिलेसम्म पूरा भएको छैन।’ उनले हावाहुरी आएका बेला भवन भत्कियो कि भन्ने डरले विद्यालयतिर दौडधुप गर्नुपर्ने अवस्था रहेको बताइन्।

चिन्ता अभिभावकलाई मात्र होइन विद्यार्थीको मनमा पनि डरको भारी छ। विद्यालय व्यवस्थापनले बालमनोविज्ञान बुझ्न नसकेको अभिभावकले गुनासो छ। कक्षा ३ मा अध्ययनरत विद्यार्थी एल्जिन कट्टेलले सुरुमा निकै डर लागे पनि अहिले बानी परिसकेको बताए। कट्टेलले भने, ‘अझै पनि बेलाबलामा साथीहरुले डर व्यक्त गर्छन्।’ करिब एक सय विद्यार्थी पढ्ने एकेडेमीको पुरानो भवन २०७२ वैशाखको भूकम्पले चिराचिरा परेपछि काठको टेको दिइएको छ। भवन कुनै पनि बेला भत्कने अवस्थामा देखिन्छ।