चाँगुनारायण नगरपालिकाले ‘एक्शन लिएपछि’ साइट लागे नेताहरु

2179

भदौं १,
भक्तपुर । जिल्ला वन कार्यालय भक्तपुरको नेतृत्वमा चाँगुनारायण नगरपालिकाको टोली सुरक्षाकर्मी सहित वन र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका घर टहरा भत्काउन पुग्यो । वन कार्यालय भक्तपुर र चागुनारायण नगरपालिकाले वडानम्बर ६ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो । यसअघि नगरपालिका र वन कार्यालयले वन क्षेत्रमा बनाएका भौतिक संरचना हटाउन सूचना जारी गरेका थिए । पटक पटकको सूचनाले वन र सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाउनेलाई भत्काउने समय सीमा तोकीएपनि त्यो पुरा नभएपछि एक्सनमा जान परेको नगरपालिकाको भनाई छ ।

केही दिन यता संगठित रुपमा नै नगरपालिकाको अभियानलाई रोक्ने प्रयास भएकोले आइतबार नगरकोट क्षेत्रमा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काउने कार्यको थालनी गर्नुपरेको नगरपालिका स्रोत बताउँछ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डनदेउपुरमा गरी करिव तीनसय घरटहरा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको छ । पहिलो चरणमा केही घर टहरा भत्काएको चाँगुनारायण नगरपालिकाले दोस्रो चरणमा आइतबार करिब तीन दर्जन अतिक्रमण गरेर बनाएका संरचना भत्काएको हो ।
वन क्षेत्रमा अवैध रुपमा निर्माण गरी सञ्चालन भएको २० वटा व्यवसायिक घरटहरा एक महिना अगाडि नगरपालिकाले भत्काएको थियो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरकोटलाई आर्कषक पर्यटकीय गन्तव्य बनाउन यो अभियानको थालनी गरिएको बताए ।
मिश्रका अनुसार अब नगरकोटमा पर्यटकीय बसपार्क, सार्वजनिक शौचालय, पार्कलगायतका संरचनाहरुको निर्माण गरिने छ ।

व्यवसायीले वन क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएको, व्यबसाय दर्ता नगरेको र कर समेत छलि गर्दै आएको भन्दै स्थानीयले अवैध घरटहरा भत्काउन माग गर्दै आएका थिए ।
‘यहाँका घरटहरा हटाउन १० वर्ष अघिदेखि नै निर्णय भएपनि कार्यान्वयन नभएको र अहिले नगरपालिकाले त्यसलाई कार्यान्वयन गरेको हु,’ मिश्रले भने । नेपाली कांग्रेस, राप्रपा, नेमकिपा र वैद्य नेतृत्व माओवादी समूहले भने वन क्षेत्रमा अवैध बनेका घरटहराहरु भत्काउन नहुने भन्दै नगरपालिकाको कदमको विरोध गर्दै आएका थिए । आइतबार नगरकोटमा पुगेका केही पार्टीका नेताहरु नगरपालिकाको निर्णय कार्यान्वयन भएपछि साइट लागेर सिलतमा बसेका थिए ।