चेपाङ ठग्न घर सपनाः ठग्न खोज्ने चेपाङ नै

129

कान्तिपुर दैनिक
साउन ३२, काठमाडौँ – करिब दुई महिनाअघिको कुरा हो, चितवनको राप्ती नगरपालिका–१३ निवासी सन्तोष प्रजालाई काठमाडौंबाट एक अपरिचितको फोन आयो । राज रानाको परिचय दिएका ती मान्छेले सुरुमा गाउँको खबर सोधे अनि भने, ‘तपाईँको गाउँमा घर नभएका वा घर बनाउन नसक्ने गरिबहरू छन् ? ’यसरी सुरु भएको चिनजानीको फुर्को समातेर अघि बढेको संवादले सन्तोष प्रजालाई झन्डै डुबाएन । उनी कसरी फन्दामा पर्न लागेका थिए अनि कसरी एक सय सात घर चेपाङलाई झुक्याइयो रु यो थाहा पाउन सन्तोषको अनुभव र बिहीबारको एउटा घटना जान्नुपर्छ ।

राजको प्रश्नमा सन्तोषले उत्तर दिए, ‘किन हुँदैनथे गरिब । खानलाउनकै धौधौ छ । घर भन्ने मात्रैको छ । कैयौंका घर धरापजस्ता छन् । बनाउनेपैसा छैन ।’ पूर्व–पश्चिम लोकमार्गको भण्डाराबाट चार घण्टा कच्ची बाटो छिचोलेपछि पुगिने दुर्गम पहाडी गाउँ तापाङका चेपाङ अति गरिब छन् । उब्जनी नहुने जमिन, निरक्षर गाउँले र विकासबाट पछाडि परेको यो गाउँका अधिकांश चेपाङका घर बस्नलायक छैनन् । ‘घरजस्तो घर नभएका त धेरै छन् हजुर,’ सन्तोषले भने । उनीसँग राजले आफूहरू दक्षिण कोरियाबाट आएको आर्थिक सहयोगमा चल्ने गैरसरकारी संस्था चलाउने मान्छे भएको बताए । भने, ‘हामीसँग तीन सय घर बनाउने योजना छ । एक घरलाई पाँच लाख बजेट छुट्ट्याएका छौं ।’ राजको कुरा सुनेर सन्तोष पुलकित भए र यस्तो प्रस्ताव गाउँकै केही साथीभाइलाई सुनाए । केही दिनमै फेरि राजले फोन गरे र भने, ‘गाउँमा घर बनाउने हो भने काठमाडौं आउनुस् । छलफल गरेर प्रोजेक्ट अगाडि बढाऔंला ।’

साउन १५ गते सन्तोष एक जना साथी लिएर काठमाडौं आए र राजलाई फोन गरे । राजले भने, ‘म काम विशेषले रामेछाप आएको छु । साँझसम्म आउँछु । कुर्नॅस् ।’ साँझ ढल्किँदा पनि राज आएनन् । उनी आउन नसक्ने खबर भने आयो । राजले आफू आउन नमिल्ने भएकाले अफिसका कर्मचारी अमित ताम्लिङलाई भेट्न भने । सन्तोषले भोलिपल्टै माछापोखरीको एक होटलमा अमितलाई भेटे । कर्मचारी बताउने अमितले भने, ‘घर बनाउन हामी तयार छौं, तपाईंहरू कागजात तयार पार्न लाग्नुस् ।’ अमितले घर बनाउने मूलीको नागरिकताको फोटोकपी, एक प्रति घरमूलीको फोटो र घर बनाउने मान्छेको घरअघि उभिएको फोटो खिचेर ल्याउन अह्राएका थिए ।

सिंगो गाउँलेको घर बन्ने भयो भन्ने खुसीले सन्तोष गाउँ फर्किए । गाउँ गएर भेला डाके । अमितले दिएको फारमअनुसार सबैको नाम, ठेगानालगायत जानकारी संकलन गरे । सबैको फोटो खिचे र नागरिकताको फोटोकपी बटुले । दुई सय ५० जनाको नाम संकलन भयो । त्यसपछि उनले गैसस प्रमुख बताउने राजलाई फोन गरेर सुनाए, ‘भनेअनुसार कागजात संकलनको काम सकियो, अब के गरौं रु’ राजले त्यतिबेला आफ्नो कर्मचारीले एउटा कुरा भन्न
छुटाएको भन्दै भने, ‘घर दर्ता गर्न प्रतिव्यक्ति दुई हजारका दरले पैसा पनि उठाउनुस् है ।’पैसाको कुरा सुनेपछि सन्तोष झस्किए । उनले धेरैको हैसियत दुई हजार तिर्न नसक्ने रहेको बुझाउन खोजे । लामो छलफलको अन्त्यमा राजले लचिलो भएजसरी भने, ‘ल भैगो । तपाईंहरू प्रतिघर एक हजारका दरले उठाउनुस् । संस्थाले एक हजार हालिदिन्छ ।’ घरै बन्ने भएपछि एक हजारको के लोभ गर्नु भन्ठानेर सन्तोषसहितका साथीले गाउँलेसँग घर बन्ने आश्वासनमा १ सय ७ घरबाट १ लाख ७ हजार रुपैयाँ उठाए । कतिले त फोटो खिचाएर नागरिकताको फोटोकपी बुझाए पनि १ हजार बुझाउन नसकेकाले ५ लाखको घर बनाउन नपाइने भयो भनेर थकथकी माने । सोही गाउँका कृष्ण प्रजा, जसको घर गत वैशाखको हावाहुरीले भत्काइदिएको थियो । घर नहुँदा गोठमा बसिरहेका उनी १ हजार तिरेपछि घर बन्छ भनेर औधी खुसी थिए ।

पैसा जम्मा भएपछि सन्तोष काठमाडौं आए । उनले राजलाई भेटन खोजे । राजले आफू काठमाडौं नभएको बताउँदै संस्थाकै मान्छेलाई पैसा दिन अह्राए । सन्तोषले सुनाए, ‘मान्छे नै नभेटी त्यतिका धेरै पैसा कसरी दिनु रु फेरि संस्थाको अफिस पनि देखेको छैन भनेर म शंकालु भएँ ।’ सन्तोषले उनलाई रामेछापकै अफिसमा आएर भेट्ने बताए, तर राजले प्रस्ताव मानेनन् । दुई पटकको काठमाडौं यात्रामा दुई पटक नै भेट नभएपछि सन्तोषलाई शंका लाग्यो । त्यति धेरै गाउँलेले घर बन्ने आशमा पैसा दिएर पठाएका छन् भनेर उनी टाठो भए । त्यसपछि उनले अक्कल लगाए । सन्तोषले बिहीबार साढे ३ बजे राजका कर्मचारीसँग माछापोखरीमा भेटने कुरा पक्का गरे । सन्तोष पैसा बोकेर भनेकै ठाउँमा पुगे । त्यहाँ कर्मचारी बताउने २ जना आए । त्यतिबेला पो थाहा भयो, उनीहरू पनि चेपाङ नै रहेछन् । सन्तोषले पैसा दिनुअघि नै महानगरीय प्रहरी वृत्त बालाजुमा घटनाबारे बताएका थिए ।

योजनाअनुसारै सादा पोसाकका प्रहरी होटलमा पुगेर रेकी गर्दै बसेका थिए । वृत्तका प्रहरीले दुई जनालाई रकमसहित पक्राउ गर्‍यो । रकम लिन बोहोराटारमा बसेका राजसहित अन्य दुईलाई पनि समात्यो । पक्राउपछि पो भेद खुल्यो, गैरसरकारी संस्थाका नाममा गरिब चेपाङलाई आश्वासन दिने पाँचै जना मकवानपुर राक्सिराङ गाउँपालिका घर भएका चेपाङ नै रहेछन् । पक्राउ पर्नेमा २४ वर्षीय राज प्रजा, २५ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय दीपक प्रजा, ३८ वर्षीय श्यामबहादुर प्रजा र ३४ वर्षीय विनोद प्रजा छन् । प्रहरीका अनुसार यो समूहले दुई वर्षअघि पनि यसैगरी घर बनाइदिन्छु भन्दै राक्सिराङकै ६/७ जनाबाट रकम उठाएको खुलेको छ ।

१ सय ७ परिवार गाउँले झन्डै ठगिएको खबर पाएपछि शुक्रबार बिहानै वडा नम्बर १३ का अध्यक्ष सूर्यबहादुर प्रजा काठमाडौं आए । ‘हाम्रो गाउँको गरिबीलाई झन्डै ठगी खाने भाँडो बनाएनछन्,’ उनले भने । गरिब चेपाङको घर सपनालाई ठगले मजाक बनाएको भन्दै उनले दुखेसो गरे । प्रहरीले पक्राउ परेकाहरूबाट ‘प्रदेश नं ३ एकता समाज, दक्षिण कोरिया’ लेखेको लेटर प्याड र ‘देश विकास एकता समाज’ लेखिएको फारम र संस्थाको छाप बरामद गरेको छ ।