Wednesday, September 23, 2026
Home पत्रपत्रिका कुकुरले टोकेको नभन्दा मनिषाको ज्यान गयो

कुकुरले टोकेको नभन्दा मनिषाको ज्यान गयो

96

अन्नपूर्ण पोष्ट
साउन ३०, ललितपुर । कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया मनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन्। जेठ १८ देखि २५ गतेसम्म उनी बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन्। त्यहीबेला उनलाई कुकुरले टोकेको थियो। तर उनले यो कुरा कसैलाई बताइनन्। कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो। केही दिनमा उनको घाउ निको भयो। साउनसम्म कुनै समस्या देखिएन। साउन १४ गते उनलाई महिनावारी भयो। महिनावारीको समयमा ढाड दुखेके बताएकी थिइन्। दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो। अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो।
गेलालका अनुसार दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजाँदा रेबिजको लक्षण देखिन थालेको थियो। बाटोमा गाडीको सिसाबाट हावा छिर्दा डराउन थालिन्। बाथरुममा पानी खोल्दा पनि डराउन थालिन्। गेलालले भने, ‘रेबिजका बिरामीमा वाटरफोयिबा, एरोफोबियाको समस्या हुन्छ। उनीहरू पानी र हावाबाट डराउँछन्।’

मेडिसिटीमा पुगेपछि डाक्टरले समस्या बुझ्दै जाँदा उनले कुकुरले टोकेको कुरा सुनाएकी थिइन्। त्यसपछि उनलाई टेकु लगिएको थियो। समस्या विकराल भइसकेकाले उनको उपचार हुन नसकेको गेलालले बताए। उनले आफूसँगै बस्ने साथी र होस्टल वार्डेनलाई समेत उक्त घटना नबताएका कारण समस्या भएको गेलालले बताए। यसै विषयमा अनुसन्धान गर्न जिल्ला स्वास्थ्य कार्यालयको टोली बुधबार घटनास्थल पुगेको थियो। रेबिज लागिसकेपछि बिरामीको श्वासप्रश्वासमा समस्या हुन्छ। पानी निल्न कठिन हुन्छ। ‘पानी देख्नेबित्तिकै घाँटीको नसा खुम्चिन्छ’, गेलालले भने, ‘हावा चल्दा पनि डराउँछन्।’ उक्त संस्थाका अन्य बालबालिकालाई पनि रेबिजविरुद्धको सुई लगाइसकेको अनुगमन क्रममा भेटिएको उनले बताए।