वन सखाप पारेर ढुंगाखानी

175

कान्तिपुर दैनिक
साउन २३, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले दक्षिणी ललितपुरको लेले, टीकाभैरव र देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा राष्ट्रिय वन र सार्वजनिक जग्गाको चरम दोहन भइरहेको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
केन्द्रले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, एसएसपी रवीन्द्रबहादुर धानुक र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, डिभिजन वन कार्यालय प्रमुखलगायतको संरक्षणमा जथाभावी एस्काभेटर र ब्रेकर प्रयोग गरी ढुंगा उत्खनन गरिएको निष्कर्ष निकाल्दै कारबाहीका लागि अख्तियारमा सिफारिस गरेको हो । गैरकानुनी दोहनले वन क्षेत्र विनाश भएको, पहिरो र भूक्षयसमेत बढेको निष्कर्षसहितको स्थलगत अध्ययन प्रतिवेदन अख्तियारमा पठाइसकिएको केन्द्रले जनाएको छ ।

केन्द्रले राष्ट्रिय तथा सामुदायिक वन र सार्वजनिक जग्गा ठूलो मात्रामा अतिक्रमण गरी अत्यधिक प्राकृतिक दोहन गर्दै आएका ढुंगाखानी सञ्चालक मधुसूदन डोटेल, वीरेन्द्र महर्जन र केदार तिमिल्सेना, चुनढुंगा उद्योग सञ्चालकलगायतमाथि कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । प्राकृतिक दोहनमा आँखा चिम्लिएको र संरक्षण गरिरहेको भन्दै ललितपुर जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र चुनढुंगा उद्योग सञ्चालकसमेतलाई तत्काल कारबाही गरी राष्ट्रिय तथा सामुदायिक वन र सरकारी जग्गा जोगाउनका लागि ठोस कदम चाल्न अख्तियारसहित वन मन्त्रालयलाई केन्द्रले आग्रह गरेको छ ।

‘ढुंगाखानीका नाममा सामुदायिक तथा राष्ट्रिय वनको अनधिकृत दोहन र दुरुपयोग गरिएकाले सम्बद्ध निकायहरूका जिम्मेवार पदाधिकारीहरू ९स्थानीय तह र सरकारी कार्यालय र सुरक्षा निकाय, उद्योग सञ्चालक र सामुदायिक वन उपभोक्ता समिति० उपर अनुसन्धान गरी कारबाही गर्न आवश्यक देखिएको’ प्रतिवेदनमा उल्लेख छ ।

ललितपुरको टीकाभैरव, लेले र देवीचौर क्षेत्रमा वन अतिक्रमण गरी ढुंगा खानी सञ्चालन गरेको सम्बन्धमा गठित समितिको प्रतिवेदनमा छलफल गरेर केन्द्रले थप छानबिन र कारबाहीका लागि अख्तियारमा सिफारिस गरेको हो । ती क्षेत्रमा जथाभावी एस्काभेटर र ब्रेकर प्रयोग गरी ढुंगाखानी सञ्चालन गर्दा सरकारी तथा सामुदायिक वन ध्वस्त हुनुका साथै जताततै ठूलठूला पहिरो जाने खतरा बढेको स्थलगत अध्ययनमा संलग्न केन्द्रका अधिकारीले बताए । ती अधिकारीका अनुसार थोरै जग्गा खरिद गरी या लिजमा लिई खानी सञ्चालन गरेकाहरूले पहाड र वन क्षेत्र सखाप पारेका छन् । ‘ती तीन ठाउँमा सञ्चालन गरिएका ढुंगाखानीले प्रकृतिको चरम दोहन गर्नाले सिंगै पहाड पहिराले ध्वस्त भएको जस्तो देखिएको छ,’ ती अधिकारीले भने ।