कर्मचारीलाई तलव नेकपाले खुवाएको होइनः सभापति देउवा

158

साउन १८,
भक्तपुर । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान नेकपाको सरकार दुई तिहाईको आडमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरको कौशलटारमा लेखक दिपेन्द्र राज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै सभापति देउवाले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गए । ’

प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप सभापति देउवाको छ । देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाएको भन्दै उनले भने ‘तपाईहरु राष्ट्रसेवकहरु हो, तपाईंहरु कुनै सत्ता प्राप्त गर्ने पार्टीको गुलाम बन्ने होईन, ब्यबसायिक भएर देश र जनताको सेवा गर्ने हो ।’ ‘तपाईहरुलाई नेकपाले तलब ख्वाएको होईन, जनताको करबाट तलब खाने तपाईहरुले जनताकै पक्षमा काम गर्नुस्, साथमा हामी छौं,’ सभापति देउवाले भने ।

पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतिपुर्ण अबस्था आएको भन्दै त्यस बिरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिएका छन् । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उनले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे । प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भएपनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको समेत उनको भनाई छ । सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने छ, देउवाले भने ।
कार्यक्रममा कांग्रेस नेता बिश्वप्रकाश शर्मा, गगन थापा, पुर्व सभामुख दमननाथ ढुंगाना, प्रा.डा.गोबिन्दराज पोखरेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा लगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होईन शान्ति र समृद्धि चाहिएको बताए ।