चुनाव केन्द्रित सुरक्षा व्यवस्थामा कडाइ

57

बारा । मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनका बखत हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

निर्वाचन नजिकिँदै गर्दा सीमा नाकामा खटेका सुरक्षाकर्मीहरूले नाकाबाट ओहोरदोहोर गर्नेहरूलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेश प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको ८ वटा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइसमेतबाट खटिएका प्रहरी गस्ती टोलीले मधेश प्रदेशको विभिन्न स्थानहरूमा अभियानकै रूपमा सुरक्षा चेक जाँचका साथै गस्तीलाई पनि कडा पारेको हो ।

मधेश प्रदेशमा प्रहरीको गस्ती टोलीले सिमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुल्ला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी चेकजाँचमा पनि कडाइ गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी प्रदेशमा सवारी चेक जाँचलाई कडाइसमेत गरिएको छ ।

चुनावका समयमा अवैधानिक सवारी साधन भित्रने र अवैधानिक गतिविधि हुने भन्दै प्रहरीले चेक जाँच सुरु गरेको हो । प्रदेश र प्रतिनिधिसभाका निर्वाचनलाई शान्तिपूर्ण बनाउन चेकजाँच कडाइ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले बताए ।

प्रहरी नायव महानिरीक्षक खाँले उम्मेदवारले आयोजना गर्ने सभा सम्मेलन, प्रचार प्रसारका साथै घरदैलो कार्यक्रममा पनि प्रहरी सुरक्षा बढाएको बताउँदै मतदाताहरू माझ निर्वाचन सफल बनाउन प्रहरीलाई सहयोग गर्न जनचेतना मूलक कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिए । उनले यस प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत खटिएको बताए ।

आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै तीन चरणमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने आपराधिक गतिविधिहरूलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो ।