बिलासी वस्तुको कडाइले राजस्वमा कमी : अर्थमन्त्री खतिवडा

191

साउन १६,
काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले बिलासी वस्तुको आयात कम गरेका कारण भन्सार राजस्वमा कमी आएको बताएका छन्। भन्सार विभागले गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बिलासी वस्तुहरुको आयातमा कमी गरेका कारण भन्सार राजस्वमा कमी आएको जानकारी दिएका हुन्। आयातमा कडाइ गर्दा व्यापार वृद्धिदरमा कमी आएको खतिवडाको भनाइ छ। ‘नेपालमा डम्पिङ गर्नुपर्ने सामानहरु आयात भएका छन्। एन्टी डम्पिङ ऐन बनाएपछि त्यसको समाधान हुने छ’ मन्त्री खतिवडाले भने ‘भन्सार बिन्दुमा छिट्टै एकद्वार नीति लागू गर्ने छौं।’ नेपाली उद्योगलाई संरक्षण गर्नका लागि भन्सारमा कडाई गरिएको खतिवडाको भनाइ छ। समग्रमा भन्सार राजस्व १२ प्रतिशत रहेको बताउँदै खतिवडाले कतिपय वस्तुलाई धेरै राजस्व र कतिपयलाई कम राजस्व लिइएको बताए। खतिवडाले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताए। भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै मन्त्री खतिवडाले उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको समेत जानकारी गराए। राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै अर्थमन्त्री डा खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई द्रुतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार व्यक्त गरे। अर्थमन्त्रीले चोरी निकासी पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न सम्बद्ध पक्षलाई निर्देशन दिए।