अख्तियार हिरासत इन्जिनियर र प्रहरीले भरिभराउ

198

अन्नपूर्ण पोष्ट
साउन १२,
काठमाडौं । साउन ४ गते कर्णाली व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वरप्रसाद शाह, इन्जिनियर हरिप्रसाद चौधरी र सवारीचालक टंकप्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ गर्‍यो। तारजाली भरेको रकम भुक्तानीबापत् उनीहरूले घुस लिएका थिए। उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

-सिरहाको गोलबजार नगरपालिकाका सब(इन्जिनियर उमा श्रेष्ठ ५० हजार घुससहित पक्राउ परिन्। शौचालय निर्माणको भुक्तानी सहज बनाएबापत् घुस लिएकी उनलाई गोलबजार(७ पुरानो चोहर्वा बसपार्कस्थित होटलबाट असार ३ पक्राउ गरी अनुसन्धान भइरहेको छ।

-जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारीचालक सुमन खड्कालाई १४ लाख ६८ हजार घुस रकमसहित असार ३ मा अख्तियार टोलीले भक्तपुर जगातीबाट पक्राउ गर्‍यो।

-रामनगर गाउँपालिका, सर्लाहीका इन्जिनियर रामजीबाबु यादवलाई ५० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ। विद्युत जडानको प्राविधिक मूल्यांकनसहित कार्य सम्पन्न प्रतिवेदन बनाएर भुक्तानी सहज गराएबापत् उनले घुस लिएका थिए।

-असार २४ गते बाराको पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सतरा १४ हजार घुससहित पक्राउ परे। उनले नगरपालिकास्थित स्कुलको कम्पाउन्ड वाल निर्माण सम्पन्न भएपछि नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा घुस मागेका थिए। उनी र कार्यालय सहयोगी धुव्र महतोलाई १५ हजार र सोही कार्यालयका नासु बद्रीबहादुर थापालाई १४ हजार घुससहित कार्यालय परिसरबाटै अख्तियारले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।

-असार १७ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर वासी अख्तर मोहम्मद ४ लाख घुससहित पक्राउ परे। खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाइ रकम लिइसकेको अवस्थामा पुतलीबजारबाट नियन्त्रणमा लिइ अख्तियारले अनुसन्धान गरिरहेको छ।

-खाजलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डीई अजितकुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्ना २ लाख घुस रकमसहित पक्राउ परे। निर्माण भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फरकफारक गराइदिने भन्दै उनले घुस लिएका थिए। असार १२ मा कार्यकक्षबाटै रकमसहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यी माथि उल्लेख भएका सबै घटनामा इन्जिनियरहरू पक्राउ परेका छन्। असार र साउनमा अख्तियारको फन्दामा धेरै इन्जिनियर परेका छन्। विकास निर्माणका काममा घुस खाने प्रवृत्तिले उनीहरू अख्तियारको हिरासतमा पुगे। विकास निर्माणमा कमिसनबापत् घुस लिने प्रचलन बसिसकेको छ। सबै साना ठूला आयोजनामा १० प्रतिशत त कमिसन खर्च छुट्याउनु पर्छ। यतिबेला अख्तियारको हिरासत इन्जिनियर र प्रहरीले भरिएको छ। घुसरकमसहित नियन्त्रणमा लिएकाहरूमध्ये र अनुसन्धानको सिलसिलामा आवश्यक परे अख्तियारको कानुनअनुसार हिरासतमा राख्ने गरिएको छ। अख्तियारका प्रवक्ता कोइरालाले अख्तियारको कानुनी नियन्त्रणमा रहेकाहरूबारे एकिन जानकारी दिने नगरिएको बताए। ‘रंगेहात पक्राउ परेकाहरू जसको मुद्दा दायर गरिएको छैन, उनीहरू अख्तियारको कानुनी हिरासतमा छन्’, उनले भने, ‘अनुसन्धानको सिलसिलामा आवश्यक परेका केही पनि छन्।’