मन्त्रीका निजी सचिवको अटेरः मेयरको आँखामा आँसु

173

नेपाल समाचारपत्र
साउन १२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर हुनुभएको छैन । पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट काजमा मन्त्रालय आउनुभएका ढकाललाई प्रदेश नम्बर–२ धनुषाको नगराइन नगरपालिकाको शिक्षा शाखामा समायोजन गरिएको थियो । तर प्रदेश सरकार मातहतमा रहेको स्थानीय निकायमा समायोजन भएको कर्मचारीलाई संघीय सरकारले सरुवा गर्न नमिल्ने भए पनि उपसचिव ढकालले उक्त नगरपालिकाबाट आफू सरुवा प्रकृयामा रहेको दावी गर्दै त्यहाँ जान इन्कार गर्नुभएको समाचार स्रोतको भनाइ छ ।

उपसचिव ढकाल काममा नगएकाले उक्त नगरपालिकाले नगराइन माविका प्रधानाध्यापक देवेन्द्रकुमार कर्णलाई शिक्षा शाखा हेर्ने जिम्मेवारी दिएको छ, जवकि शिक्षकलाई नगरपालिकाको कुनै पदीय जिम्मेवारी दिन मिल्दैन । मेयर प्रमेश्वर यादवले अटेर उपसचिवको कारण नगरपालिकाको शिक्षाको सम्पूर्ण काम लथालिङ्ग भएको बताउँदै भन्नुभयो–ढकालजीको नाम सुनेको छु, तर कहाँ हुनुहुन्छ थाहा छैन । उहाँलाई काममा पठाइदिन मन्त्रालयका सचिवलाई भनेका छौँ, हालसम्म केही जवाफ पाएका छैनौँ ।’

सो नगरपालिकामा शिक्षा विभागका एक जना पनि कर्मचारी छैनन् । उपसचिव ढकाल कार्यालयमा नआए कानुनी उपचारमा जाने तयारी नगरपालिकाले गरेको छ । तर उपसचिव ढकालले भन्नुभयो–प्रकृया मिलाउँदैछौँ, अहिले तत्काल जाने अवस्था छैन ।’ आफूले सरकारको निर्णय अटेर नगरेको जीकिर गर्दै उहाँले भन्नुभयो–मैँले अटेर गरेको छैन । पत्र बुझेको पनि छैन । तर समाचार स्रोतका अनुसार उपसचिव ढकाल पत्र बुझेर पनि मन्त्रीको शक्ति देखाउँदै हाजिर हुन नजानुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जोसुकै भए पनि समायोजन भएको कार्यालयमा तत्काल हाजिर हुनुपर्ने बताउनुभयो ।