कविकुञ्जको मूल्य ५ करोड

116

कान्तिपुर दैनिक
साउन ८, काठमाडौँ । झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए । उनी घरको दोस्रो तलामा सुत्थे । साहित्यिक सिर्जना लेख्थे । चुरोट तान्दै झ्यालबाट मैतीदेवीको हरियो फाँट हेर्थे । यही ऐतिहासिक घर साहित्यिक संग्रहालय बन्ने प्रक्रियाले फड्को मारेको छ । महाकविको परिवार सदस्यसमेत समेटेर सरकारले बनाएको मुआब्जा निर्धारण समितिले १२ आना क्षेत्रफलमा फैलिएको ‘कविकुञ्ज’को मूल्यांकन ५ करोड १२ लाख गरेको छ । बाहिरबाट हेर्दा पुरानो इँटा र काठे झ्यालसहितको चिटिक्क देखिए पनि चार वर्षअघिको भुइँचालोबाट ‘कविकुञ्ज’को भित्री स्वरूप आधा भत्किएको अवस्थामा छ । चारतले कविकुञ्जभित्र नेपाली मौलिकता झल्किने भर्‍याङहरू छन् । भुइँतलाका दुई कोठा बन्द छन् । अर्को कोठा दोस्रो तला खसेर पुरिएको छ ।

माइली छोरी अम्बिकादेवीका अनुसार भुइँचालोअघि यहाँ मानिस भाडामा बस्थे । देवकोटा सुत्ने कक्ष पनि भुइँचालोले आधा तल खसेको छ । देवकोटाले प्रयोग गरेका बेतका केही कुर्सी, दराज र टेबुल असरल्ल छन् । भित्तामा केही तस्बिर फ्रेमिङ गरिएको छ देवकोटाका । त्रिमूर्ति (लेखनाथ पौड्याल, बालकृष्ण सम र देवकोटा) का श्यामश्वेत ऐतिहासिक तस्बिरहरू पनि यहीँ छन् । भारतको गान्धी समाधिस्थलमा फूल चढाइरहेका छन् देवकोटाका तस्बिर पनि देख्न सकिन्छ । सामुन्ने भित्तामा पत्नी मनदेवीसँगै कुम जोडिएको तस्बिर छ । सबैभन्दा माथिल्लो तलाका दलिनहरूपुराना र काला देखिन्छन् । छाना पुरानो जस्ता पाताले छाएको छ । इँटाद्वारा निर्मित भित्तामा माटो लिपिएको देखिन्छ ।

समितिले कविकुञ्जको मूल्य निर्धारण गरी पर्यटन तथा संस्कृति मन्त्रालयलाई ५७ पृष्ठ लामो प्रतिवेदन पठाएको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि कविकुञ्ज सरकार मातहतमा आउने छ । यसपछि डीपीआर तयार पारी महाकवि लक्ष्मीप्रसाद देवकोटाकै नामबाट साहित्यिक संग्रहालय बन्ने र यो नेपाल प्रज्ञाप्रतिष्ठानअन्तर्गत रहने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा ‘कविकुञ्ज’ किनेर संग्रहालय बनाउने घोषणा गर्दै परिवारसँग संवाद संयोजन गर्न कुलपति उप्रेतीलाई जिम्मेवारी सुम्पेका थिए ।