राष्ट्रिय शान्तिको बाधक नै विप्लव समूह भएको गृहमन्त्रीको दावी

142

साउन ७,
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार रहेपनि विप्लव समूहले नचाहेको बताएका छन् । राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरे । मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

‘वार्ताद्वारा समस्या समाधान गर्ने पक्षमा हामी छौँ, तर उनीहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैनन्’ मन्त्री थापाको भनाइ छ । उनले विप्लव समूहका गतिविधि नियन्त्रण गर्ने सरकारको दायित्व नै भएको पनि बताए ।‘यसक्रममा विप्लव समूहका ६ सय भन्दा बढि नेता कार्यकर्ता नियन्त्रणमा लिइएको पनि मन्त्री थापाले जानकारी दिए । उनले सरकारले वार्ताको लागि बोलाएपनि उनीहरुले वार्ताका लागि औपचारिक प्रस्ताव नपठाएको भन्दै पछिल्लो समय वार्ताको सम्भावना बढेको बताए ।कार्यक्रममा गृहसचिव प्रेमकुमार राइले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सकेसम्म प्रयास गरिरहेको भन्दै विप्लव समूह मूलधारमा आएपछिमात्रै पूर्ण शान्ति कायम हुने बताए ।