असार २९,
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न संचार माध्यामहरुलाई रोक लगाएका छन् । मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं-नुवाकोट सडक मर्मतका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली काँग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका संचारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाएका हुन् । आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्ने वित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराए ।
‘यसरी भिडियो लिन हुन्न,’ मन्त्री महासेठले आक्रामक शैलीमा भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न ।’कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाएका हुन् । मन्त्री महासेठले संचार माध्यामहरुलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताएनन् ।
यसैबीच नुवाकोट काँग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसी नेतृत्वको टोलीले नुवाकोट प्रवेश गर्ने विभिन्न सडकहरु वर्षाले बिगार्दा संचालन हुन कठीन भएकाले तत्काल मर्मत गर्न मन्त्री महासेठको ध्यानाकर्षण गराएको छ ।-रातोपाटी