अपडेट : बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो, ४४ जना अझै बेपत्ता

227

असार २९,
काठमाडौं । लगातार अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५२ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परेर ४४ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा ३, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ गरी २१ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ गरी १७ जनाको मृत्यु भएको छ ।यस्तै, प्रदेश नम्बर २ को पर्सामा १, बरामा २, रौतहटमा १ , महोत्तरीमा १, सिरहामा १ र धनुषामा २ गरी ८ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै प्रदेश नम्बर ५ को पाल्पामा १ र दाङमा १ गरी २ तथा कर्णालीको डोल्पामा २ र जाजरकोटमा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३ मा २१, प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा ८, प्रदेश नम्बर ५ मा २ र कर्णालीमा ४ गरी अहिलेसम्म देशभर ५२ जनाको मृत्यु भइसकेको छ । यस्तै बेपत्ता हुनेको संख्यामा प्रदेश नम्बर ३ मा ९, प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ५ र कर्णाली प्रदेशमा १९ गरी ४४ जना पुगेका प्रहरीले जनाएको छ ।

अहिलेसम्म बाढी तथा पहिरोमा फेसेका १ हजार १ सय ४ जनाको उद्दार गरिएकोमा २५ जना घाइते छन् । घाइतेहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।