एकाबिहानै ‘छौंडा’ छुटेपछि
असार २३, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि संवाददाताहरूसँग भारतबाट आयातीत फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने निर्णयप्रति आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीका प्रमुख सहयोगीका रूपमा सुरुबाटै कार्यरत रिमालले कसप्रति लक्षित गरेका हुन् भन्ने धेरैले खुलदुली प्रकट गरेका छन् । उनले भने न आफ्नो ट्वीटबारे ओइरिएका प्रतिक्रियाको कुनै प्रस्टीकरण नै दिएका छन् ।
बिहान ६ बजेर ४० मिनेट जाँदा पोस्ट भएको ट्वीट थुप्रै रिट्वीट र लाइक भएका छन्, त्यत्ति नै प्रतिक्रिया आएका छन् । प्रायः संयमित रहने रिमालले किन एक्कासि सरकारलाई हतास मनस्थितिमा देखाउने ट्वीट गरे भन्नेमा धेरैको जिज्ञासा देखिएको छ । प्रधानमन्त्री ओली एकपछि अर्को निर्णयबाट हट्न बाध्य हुनुपरेको र पार्टीमा अन्य नेताहरूसँग कार्यविभाजन टुंगोमा पुर्याउन नसकेको पृष्ठभूमिमा रिमालकोट्वीटले बालुवाटारको मनस्थिति दर्शाएको मानिएको छ ।
केही दिनअघि प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले यस्तै विवादास्पद ट्वीट गरेका थिए । जनअसन्तुष्टिलाई सके व्यवस्था उल्ट्याउन, नभए सरकारविरुद्ध प्रयोग गर्न ‘भित्रबाहिरका शक्तिहरू सक्रिय रहेको अवस्था’ भन्दै उनले सावधान तुल्याउन लेखेका थिए, ‘इतिहास दोहोर्याउने कुचेष्टा ।’
रिमालले पनि त्यस्तै देशी विदेशीतर्फ इसारा गरेका छन् जसको निसाना प्रस्ट छैन । उनको निसाना जता भए पनि प्रयोग गरेको बिम्बमा सबभन्दा बढी आलोचना भएको छ । नेपाली बृहत् शब्दकोशको व्याख्यामा ‘लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पीरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो’ लाई ‘छौंडा’ भनिएको छ । – kantipurdaly.com