टहरामा बाल मन्दिरः ‘निमोनियाँले ६ महिनाकी बालिका बितिन्’

269

कान्तिपुर दैनिक
असार ५, काठमाडौँ । दिनभर घामको रापले गुमुक्क परेको कोठा । म्याट्रेस ओछ्याएको चिसो भुइँ । त्यही कोठामा शिशु उमेरका नानीहरू रापताप सहँदै हुर्कन्छन् । सहारा गुमेका बालबालिकालाई संरक्षण दिँदै आएको नक्सालस्थित बाल मन्दिरको यो कोठामा नवजातदेखि १८ महिनासम्मका बच्चा छन् ।
यही शिशुहरूको जमातमा गत वैशाख २४ देखि एक चारमहिने बालिका पनि ल्याइएकी थिइन् । खाडी मुलुकबाट फर्केकी आमाले राष्ट्रिय महिला आयोगको समन्वयमा ती छोरीलाई बाल मन्दिरमा बुझाएकी थिइन् । सातमहिने गर्भ लिएर नेपाल फिरेकी ती आमाले एक आश्रित गृहमा गत माघमा छोरीलाई जन्म दिएकी थिइन् । आफैं बेसहारा भएको अवस्था र बाहिर गरिखान मुस्किल भएपछि उनले छोरीको भलो चिताएर बाल मन्दिरमा बुझाउन चाहेकी थिइन् । ‘जस्तापाताको छानो र चिसो भुइँ भएको उक्त कोठामा हुर्कंदै गरेकी ती ६ महिने नानीलाई जेठ अन्तिममा निमोनियाँको लक्षण देखियो, अस्पताल लगेर राख्नासाथै उनको निधन भयो,’ बाल मन्दिरकै एक चिनारुले सुनाइन् ।

नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोलका अनुसार भूकम्पले बाल मन्दिरको मुख्य भवन भत्काएपछि परिसरको साँघुरो खाली जग्गामा प्रि–फ्याबबाट निर्मित अस्थायी टहरामा बालगृह सरेको धेरै भइसकेको छ । मुख्य भवन ‘रेट्रोफिटिङ’ गर्ने भनिएको हो, तर पुनर्निर्माण प्राधिकरणले चासो नदिएका कारण बालबच्चा टिनको टहरोमुनि बसिरहेका छन् । बालगृहमा आश्रित ९० बालबालिकामध्ये नवजातदेखि एक वर्षसम्मका ९ जना, दुईदेखि ३ वर्षका १६, ४ देखि ५ वर्षका ५ जना, ६ देखि १० वर्षका ४७ जना, ११ देखि १५ वर्षका ७ जना र १६ देखिमाथिका ६ जना छन् ।