लिबियाको आप्रवासी केन्द्रमा हवाई हमला, ४० जनाको मृत्यु

69

एजेन्सी, असार १८,
काठमाडौं । लिबियामा आप्रवासीहरूलाई राखिएको एउटा बन्दीगृहमा हवाई हमला हुँदा कम्तीमा ४० जना मारिएको अधिकारीहरूले बताएका छन्। सो आक्रमणमा थप ८० जना घाइते भएका छन्। हमला राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा भएको हो। मारिनेमध्ये धेरैजसो अफ्रिकी आप्रवासीहरू रहेको बताइएको छ। पछिल्ला वर्षमा युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानविन्दू बन्ने गरेको छ।

लिबिया लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि हिंसा र विभाजनबाट प्रताडित छ। आपत्कालिन सेवा सम्बन्धी निकायका एकजना प्रवक्ता ओसामा अलीले समाचार संस्था एएफपीलाई बताए अनुसार प्रत्यक्ष हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र थिए। अहिलेसम्मको मृतकको सङ्ख्या ‘प्रारम्भिक’ भएकोले थप मानिसहरू मारिएका हुनसक्ने ती प्रवक्ताले बताए। संयुक्त राष्ट्रसङ्घले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले बुधवारको हमलाका लागि स्वघोषित लिबियन न्यासनल आर्मी (एलएनए) लाई दोष लगाएको छ। शक्तिशाली खलिफा हफ्तरले नेतृत्व गरेको एलएनएले हमला भएको क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता पाएको लिबियाको सरकारप्रति बफादार फौजविरूद्ध लडिरहेको छ।

एलएनएले सोमवार गरेको एउटा घोषणामा युद्धका आफ्ना ‘परम्परागत तरिका’ फेर्दै त्रिपोलीमा हवाई हमलाहरू गर्ने बताएको थियो। तर बन्दीगृहमा भएको हमलाको भने आफ्ना फौजले नगराएको एलएनएका प्रवक्ताले बताएका छन्। युरोप जाने प्रयासमा रहेका हजारौं त्यस्ता आप्रवासीहरूलाई सरकारद्वारा सञ्चालित त्यस्ता बन्दीगृहहरूमा राखिएको छन्। धेरैजसो बन्दीगृह द्वन्दप्रभावित क्षेत्र नजिकै छन्। त्यस्ता केन्द्रहरूको कमजोर अवस्थाबारे मानव अधिकारवादी समूहहरूले आलोचना गर्ने गरेका छन्। युरोपेली संघले आप्रवासीहरू अगाडि बढ्ने डुङ्गाहरूलाई रोक्न भन्दै लिबियाका तटरक्षकहरूसँग सहकार्य बढाएको छ। तर देशको राजनीतिक अस्थिरताबीच त्यहाँ मानव ओसारपसार गर्ने गिरोहहरू सक्रिय भएका छन्। उनीहरूले युरोप पुग्न आतुर त्यस्ता आप्रवासीबाट हजारौं डलर उठाउने गरेका छन्।-बीबीसीबाट