अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति

11

अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगती भएको बताइएको छ। जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगती भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्। यद्यपि दुवै पक्षले के-के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त वक्तव्य सार्वजनिक गर्दैछन्। चिनियाँ पक्षले वार्ता सकिएको र छिट्टै संयुक्त वक्तव्य जारी हुने भनेको छ।’चीन र अमेरिकाले वार्तामा भएका विषयहरूलाई अन्तिम रूप दिएर छिट्टै सार्वजनिक गर्नेछन्,’ चिनियाँ प्रतिनिधिले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ। ‘उक्त वक्तव्यमा उल्लेख हुने विषयहरू विश्वका लागि खुशीको खबर हुनेछ,’ व्यापार वार्तामा सहभागी भएका चीनका वाणिज्य उपमन्त्री ली चेङगाङले भनेका छन्।