‘प्रेमगीत ३’ मा क्रिष्टिना गुरुङ

422

असार १५,
काठमाडौँ । फिल्म ‘प्रेमगीत ३’को चर्चा लामो समय देखि चलिरहेको छ । यस फिल्मको लागि नव नायिकाको खोजी गरिएको थियो । प्रेमको गीत बन्नको लागि २७ सय भन्दा बढिले आवेदन भरेका थिए भने २५ जना छनोट गरेर अडिसन गरिएको थियो । अन्तः प्रेम गीत ३ मा ‘गीत’ को भूमिकाका लागि अभिनेत्रीको टुंगो लागेको छ । अमेरिकामा बस्दै आएकी क्रिस्टिना गुरुङलाई निर्माण टिमले आइतबार लिड अभिनेत्रीको रुपमा अनुबन्धित गरेको छ ।

उनी फिल्मको अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । अब, उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् । निर्माता तथा निर्देशक सन्तोष सेनले यो फिल्मको लागि क्रिस्टिना योग्य भएर छनोट गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘थुप्रै संघर्ष र चुनौतीहरु पार गर्दै अमेरिकाबाट नेपाल अडिसनको लागि आएकी क्रिष्टिनाको २७१४ बाट गीतको लागि चयन हुनुमा उनको प्रतिभा, सुन्दरता र आत्मविश्वासको बयान गर्दछ । हामीले उत्कृष्ट २५ को नामावली सार्वजनिक गरेपछि सबैले आ–आफ्नो रोजाइ र चाहना अनुसार ‘तेश्रो गीत यो बन्नुपर्छ’ भनी आफनो मत राख्नुभएको थियो । बजारमा विभिन्न नामहरु अगाडी आइरहेका थियो तर हामी भने फिल्ममा सुहाउदो पात्रको खोजीमा नै केन्द्रित रह्यौ ।’ निर्माता सेनले कथाको माग अनुसार क्रिस्टिनालाई अनुबन्धित गराएको बताउर्दै बाँकी २४ जना पनि निकै प्रतिभाशाली भएको उल्लेख गरेका छन् ।

चैत २८ मा रिलिज हुने ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । फिल्ममा प्रदिप खड्का, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मी लगायत कलाकार फाइनल भएका छन् ।