पहिराले थुनिए २८ परिवार

79
सांकेतिक तस्विर

कान्तिपुर दैनिक
असार ९, संखुवासभा — घरछेउबाट देखिने चारैतिरका डाँडा चिराचिरा परेका छन् । ती हेर्‍यो कि डर लाग्छ । ६ दिनयता रातभर पानी परिरहेको छ । दिउँसो घाम लाग्छ । कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास छ । ठाउँठाउँमा जमिन फाटेको छ । असार ३ गते गएको पहिरोले मकालु गाउँपालिका ५ मा २८ परिवार गाउँमै थुनिएका छन् । उनीहरू ६ दिनदेखि राम्ररी निदाउन पाएका छैनन् । भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको पेपुवाका विस्थापित मकरध्वज राईले बताए । ‘फोन पनि दिउँसो घाम लागेका बेला मात्र चल्छ,’ उनले भने, ‘उद्धारको पर्खाइमा छौं । नजिकैको खुला आकाशमा रात काटिरहेका छौं ।’

विस्थापितका लागि नजिकका बजार नुम र हेदान्ना हुन् । तर यहाँसम्म पुग्ने बाटो पहिरोले भत्काइदिएको छ । बाटो नभएपछि गाउँमै थुनिएर बस्नुपरेको राईले बताए । भएको अन्नपात सकिएपछि अब के खाने भन्ने चिन्ता उनीहरूमा छ । बालबालिका स्कुल जान पाएका छैनन् । विद्यालयसम्म पुग्ने बाटो छैन । पहिरोले भत्किएको बाटो पुनः सञ्चालनमा ल्याउन महिनौं लाग्न सक्ने गाउँले बताउँछन् । पहिरोको बाटो हिँड्ने सक्ने अवस्थामा नरहेको स्थानीय शैलेन्द्र राईको भनाइ छ । खानेपानीको मुहान पनि पहिरोले बगाएकाले धेरै समस्या भएको उनले बताए । ‘अकाशबाट झरेको पानी थाप्छौं र खान्छौं,’ उनले भने, ‘सबैको घरमा भएको अन्नपात सकिएकाले समस्या हुन थालेको छ ।’