एक व्यक्तिले डुंगामा पिसाब फेरिदिँदा कैयौं मानिस घाइते

287

एजेन्सी, असार ८,
काठमाडौँ – जर्मनीको राजधानी बर्लिनमा एक व्यक्तिले शुक्रवार बेलुका एउटा पुलमाथिबाट पर्यटक चढेको डुंगामा पिसाब फेरिदिँदा कैयौं मानिस घाइते भएको बर्लिन फायर डिपार्टमेन्टले जनाएको छ । माथिबाट पिसाबको छिटा परेपछि डुंगामा मानिसको भागाभाग भएको थियो । त्यतिखेर डुंगा बर्लिन–मिट्टेमा रहेको जान्नोविज पुलमुनिबाट जाँदैथियो ।

स्प्री नदीमाथिको चार मिटर अग्लो पुलमुनिबाट डुंगा गइरहँदा पिसाबको छिटा परेपछि कैयौं मानिस उफ्रिएको अनि उनीहरूको टाउकोमा चोट लागेको फायर डिपार्टमेन्टले जनायो । चारजनालाई एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको छ । उनीहरूको टाउकोमा चोट लागेको छ ।

पिसाब फेर्ने मानिसविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ र उसको व्यवहार असामान्य भएको बताएको छ । अहिले प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको छ ।