नगर प्रमुखलाई प्रजापतिलाई शिक्षकले बुझाए ज्ञापन पत्र

371

असार २,
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई शिक्षकहरुले ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेक्राशिसंघ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र इसीडी शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको टोलीले नगरप्रमुख प्रजापतिलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले इसीडी शिक्षकहरुको समस्या सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको जानकारी बताउदैं तल्लो तहमा अध्यापन गराउनु सम्मान योग्य कामको रुपमा चर्चा गरे । प्रमुख प्रजापतिले नगरभित्रका सामुदायिक आधारभूत विद्यालयहरुको शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकाहरुलाई नयाँ सिकाइ प्रविधिको तालिम सञ्चालन गरी विद्यालयहरुको नियमित अनुगमन गर्ने बताए ।

नेपाल क्रान्तिकारी शिक्षक संघ, भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसाले पूर्व प्रावि तहमा काम गर्ने शिक्षक (सहयोगी कार्यकर्ता)हरुको तलब प्रावि सरह गर्नुपर्ने माग गरेका छन् । ज्ञापनपत्रमा प्रावि तहमा काम गर्ने शिक्षकहरुको शैक्षिक योग्यता एसइइ पूरा भएको हुनुपर्ने, इसीडीमा शिक्षकहरुलाई प्रत्येक वर्ष पुनःताजगी तालिम दिइनुपर्ने, विद्यार्थी संख्याअनुसार प्रत्येक १५ जना विद्यार्थी बराबर १ जना शिक्षकको व्यवस्था हुनुपर्ने, पूर्व प्रावि तहको लागि कार्यालय सहयोगीसरहको तलब भत्ता, पोशाक भत्तालगायतका १२ बुँदाका मागहरु समावेश छन् ।