Saturday, October 17, 2026
Home राजनीति संस्कृति र परम्परा विनाश गर्ने गुठी विधेयक स्वीकार्य छैन : कांग्रेस

संस्कृति र परम्परा विनाश गर्ने गुठी विधेयक स्वीकार्य छैन : कांग्रेस

115

जेठ २७
काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको गुठी विधेयक संविधानको मर्म र भावनाविपरीत भएकोले स्वीकार्य नहुने बताएको छ। संस्कृति र परम्पराको विनाश गर्ने गरी सरकारले गुठी विधेयक ल्याएको पनि कांग्रेसको भनाइ छ। ‘धर्म, संस्कृति र परम्पराको विनाश गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी ल्याइएको विधेयकप्रति नेपाली कांग्रेसको घोर आपत्ति रहेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संविधान प्रतिकूल हुने गरी आएको विधेयक स्वीकार गर्न नसकिने पनि कांग्रेसले बताएको छ। ‘कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन । तसर्थ, सरोकारवालाहरूको माग र जनताको चाहनाविपरीत आएको विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालाहरूसँग सार्थक संवादमार्फत् सहमतिका आधारमा तत्काल समाधान खोज्न सरकारसँग माग गर्दछौं,’ कांग्रेसले भनेको छ। गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको कांग्रेसको भनाइ छ।

संविधानले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिको संरक्षणप्रति प्रतिवद्धता जनाएको भए पनि विधेयकले संविधानकै मर्म, भावनामाथि प्रहार गरेको कांग्रेसले जनाएको छ। साथै, कांग्रेसले विधेयकविरूद्धमा शान्तिपूर्ण रूपमा भेला भई विरोध प्रदर्शन गरेका विभिन्न गुठीका गुठीयार र आम नागरिकमाथि सरकारले वर्वरतापूर्वक आक्रमण, धरपकड गर्ने, अन्धाधुन्ध बल प्रयोग र पानीको फोहोरा समेत प्रहार गरी दर्जनौं प्रदर्शनकारीलाई घाइते बनाएको घटनाप्रति भर्सना गरेको छ।