अन्य देशबाट आउने किताब र पत्रिकामा पनि १० प्रतिशत कर

477
Books HD

जेठ २२,
काठमाडौं । सरकारले पत्रिका र किताबमा भन्सार शुल्क लगाएको छ। विदेशमा छापिएर आउने त्यस्ता किताब, पत्रिका तथा ब्रोसरमा अब १० प्रतिशत भन्सार शुल्क लाग्नेछ। आगामी वर्षको बजेटसँगै आएको आर्थिक विधेयकमार्फत् अर्थ मन्त्रालयले त्यस्ता सामग्रीमा भन्सार लगाउने व्यवस्था गरेको छ। संसदमा दर्ता भए पनि उक्त विधेयकमा भएका प्रस्ताव जेठ १६ देखि नै लागू भइसकेका छन्। अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आउने तयारी वस्तु र कच्चा पदार्थबीचको भन्सार दरमा पाँच प्रतिशतको फरक पारिएको बजेट भाषणमार्फत् घोषणा गरेका थिए। सोहीअनुसार छापिएर आउने सामग्रीमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको हो।

यसअघि नेपालमा किताब तथा पत्रिका छाप्न ल्याउने कागजमा ५ प्रतिशत भन्सार लाग्ने भए पनि छापिएर आउने किताब तथा पत्रिका भने छुटमा आउने गरेका थिए। नेपालका धेरै प्रकाशकले छिमेकी भारतका छापाखानामा पुस्तकहरू मुद्रण गरेर ल्याउने गरेका थिए। प्रेस सञ्चालकहरूले नेपालमा कागज किनेर छाप्नुभन्दा विदेशबाटै छपाएर ल्याउनु सस्तो हुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।