त्रिविमा चरम बेथिति प्राध्यापकलाई निजी नै प्यारो

102

जेठ १३,
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका अधिकांश प्राध्यापक, उपप्रध्यापक, सहप्रध्यापक र शिक्षण सहायकले स्वीकृति नै नलिई विभिन्न निजी शिक्षण संस्थामा अध्यापन गराउँदै आएको पाइएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने सबैभन्दा पुरानो प्राज्ञिक थलो त्रिविमा यस्तो चरम बेथिति देखिएको हो । त्रिविका अनुसार पछिल्लो दुई वर्षको अवधिमा २५ जना कर्मचारीलाई सेवाबाट हटाइएको छ । ९० दिनभन्दा बढी समय अनुपस्थित भएको भन्दै विशेष सजायअन्तर्गत उनीहरूलाई सेवाबाट हटाइएको हो । यसरी हटाइएकामा निजी शिक्षण संस्थामा अध्यापन गराउनेहरू पनि रहेको त्रिवि स्रोतले बताएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा बिनाजानकारी लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट हटाउने उल्लेख छ । अनुगमन निर्देशनालयसम्बन्धी विनियम २०७३ मा त्रिविबाहेक अन्य संस्थामा आंशिक रूपमा काम गर्न चाहने शिक्षक तथा कर्मचारीलाई त्रिविको कामकारबाहीमा असर नपर्ने गरी स्वीकृत दिन सक्ने उल्लेख छ । यस्तै, त्रिविले त्रिविको नियमानुसार हालै २० जना कर्मचारीलाई काम गर्न सचेत गराई नसियत दिएको छ । राजधानीसहित देशभर ६१ आंगिक क्याम्पस छन् ।

ती क्याम्पसमा अध्यापनरत केही प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापक र शिक्षण सहायकले निजी शिक्षण संस्थामा समेत पढाउँदै आएका छन् । त्रिवि अनुगमन निर्देशनालयले अध्यापन गराउँदै आएको क्याम्पस र अध्यापन गराउन चाहेको क्याम्पसबीचको सहमतिपत्रका आधारमा स्वीकृति दिँदै आएको छ । त्रिवि स्रोतका अनुसार १ हजार २ सय बढीले अध्यापनका लागि पूर्वस्वीकृति लिएका छन् ।

शिक्षाविद् डा। विद्यानाथ कोइराला त्रिविले किनेको समयमा अन्यत्र पढाउन जानु सम्बन्धित व्यक्तिको बद्मासी रहेको बताउँछन् । उनी त्रिविको प्राध्यापनमा असर पार्ने गरी अन्यत्र पढाउन जान नपाइने र स्वीकृत लिने विषयलाई पनि कडाइ गरिनुपर्ने बताउँछन् । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीराम उप्रेतीले पूर्वस्वीकृतिबिना अन्यत्र पढाउन नपाइने बताए । ‘अन्यत्र पढाउँदा पूर्वजानकारी लिनैपर्छ । बिनाजानकारी कहीँ कतै पढाउन मिल्दैन,’ उप्रेतीले भने । अस्कल क्याम्पसका प्रमुख उमाकान्त कर्णले कसैले पनि क्याम्पस समयमा अन्यत्र पढाउन नमिल्ने बताए । उनले क्याम्पसमा तोकिएको समयमा अन्यत्र पढाएरनपढाएबारे सूक्ष्म अध्ययन गरिने र त्रिविले नियमानुसार कारबाही गर्ने बताए ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले त्रिविका प्राध्यापकले निजीमा पढाउने गरेको भन्दै आपत्ति जनाए । उनले त्रिविका प्राध्यापकले निजी शिक्षण संस्थामा लगानी गरेको र त्रिविभन्दा निजीमा बढी ध्यान दिने गरेको आरोप लगाए । त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा।डा। रिदीश पोख्रेलका अनुसार केन्द्रीय क्याम्पससहित ६१ आंगिक क्याम्पसमा अहिले ३ लाख ९२ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । यस्तै, १६ हजार ६१ जना कर्मचारी कार्यरत छन् ।